Latest
img

नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा सफारीको अनुमतिले पर्यटकको सङ्ख्यामा वृद्धि

कावासोती-चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरको अमलटारीबाट निकुञ्ज प्रवेश र सफारीको अनुमति खुलाएसँगै अमलटारी क्षेत्रबाट निकुञ्जभित्र जङ्गल सफारी जाने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।नवलपुरको अमलटारी क्षेत्रबाट यसअघि ेम्पल टाइगर र थारु भिलेज होटलले मात्रै जङ्गल सफारीको निकुञ्ज प्रवेशको अनुमति पाएका थिए भने अन्य स्थानीय होटल र होमस्टेले नजिकको सामुदायिक वनमा मात्रै सफारी गराउन पाउने नियम थियो ।

निकुञ्जले अमलटारीबाट टेम्पल टाइगर र थारु भिलेजबाहेक अन्य होटल व्यवसायी र होमस्टेलाई निकुञ्जभित्र जङ्गल सफारीको अनुमति दिएसँगै एक महिनाको अवधिमा सात सय ७५ नेपाली र दुई सय विदेशीले निकुञ्जभित्र जङ्गल सफारी गरेको नवलपुर पर्यटन समितिका सचिव धनीराम गुरौले जानकारी दिनुभयो ।

उहाँका अनुसार निकुञ्जभित्र जङ्गल सफारीका लागि पश्चिम सेक्टरअन्तर्गत रजहरको कुजौली रेन्जपोस्ट र अमलटारीबाट निकुञ्ज प्रवेश गर्ने अनुमति निकुञ्ज प्रशासनले दिएको छ । कुजौलीबाट हरेक दिन दुई जिप र अमलटारीबाट पाँच जिपमा निकुञ्ज प्रवेश गर्न पाउने व्यवस्था छ । निकुञ्जले तोकेकै जिपबाट मात्र जङ्गल सफारी जान पाइन्छ । एउटा जिपमा एक पटकमा १२ जनाले सफारी गर्न सकिने र कम्तीमा एक नेचर गाइड लैजानुपर्ने व्यवस्था छ । एक जना गाइडले रु एक हजार पाँच सयदेखि तीन सय हजारसम्म शुल्क लिने गरेका छन् ।

निकुञ्ज प्रवेशका लागि नेपालीले रु एक सय ५०, सार्क क्षेत्रका पर्यटकले रु एक हजार र अन्य देशका पर्यटकले रु दुई हजार शुल्क तिर्नुपर्छ । यो क्षेत्रबाट निकुञ्ज प्रवेश गर्ने हरेक जिपले एक पटक रु पाँच हजार शुल्क तिर्नुपर्छ । सो शुल्क तिरेपछि हरेक जिप प्रवेश गराएबापत निकुञ्जलाई थप रु पाँच हजार शुल्क तिर्नुपर्ने नियम छ ।

यहाँको नारायणी नदी फराकिलो क्षेत्रमा फैलिएका कारण डुङ्गा चढेर निकुञ्ज आसपासको दृश्य अवलोकन गर्ने र नदीका चरा हेर्ने पर्यटकको सङ्ख्या पनि बढ्दै गएको सचिव गुरौले बताउनुभयो । पर्यटकको सङ्ख्या बढ्दै गएपछि रोजगारी पनि बढ्दै गएको र निकुञ्ज प्रवेश गर्दा पैदलयात्रीले अनिवार्य दुई नेचर गाइड लैजानुपर्ने भएकाले स्थानीय तहमा रोजगारी बढेको सचिव गुरौको भनाइ छ ।

Related Post

Leave A Comment