Latest
img

चौथो दिनसम्म २२ हजारद्वारा मेलाको अवलोकन

नवलपुरको गैँडाकोटमा जारी ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ को हालसम्म २२ हजार दर्शकले अवलोकन गरेका छन् । मेला सञ्चालन भएको चौथो दिनसम्म आइपुग्दा २२ हजार दर्शकले मेलाको अवलोकन गरेका मेला सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए ।
भट्टचनका अनुसार मेलाको चौथो दिन बुधबारमात्रै करिब पाँच हजार दर्शकले मेलाको अवलोकन गरेका छन् । मेलामा दर्शकहरुको उपस्थिति अपेक्षाकृत नै रहेको भट्टचनले जानकारी दिए । मेलाका अवसरमा बुधबार मेलास्थलमा खुल्ला रक्तदान कार्यक्रमसमेत सम्पन्न गरिएको छ । गैँडाकोट–२ युवा क्लबद्वारा आयोजित रक्तदान कार्यक्रमा ३६ जनाले रक्तदान गरेका मेलाका सहसंयोजक भट्टचनले जानकारी दिए । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघसंस्थासँगको सहकार्यमा बुधबार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको भट्टचनको भनाइ छ । मेलामा हस्तकला, कृषि, पुष्प, अटो, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको घरायसी सामान, लत्ताकपडा, श्रृङ्गारका सामग्रीसहितका ३०० स्टल रहेको उनले जानकारी दिए ।
प्रदेशको कान्छो जिल्ला नवलपुर जिल्लाले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने समाथ्र्य राखेका कारण नवलपुरमा प्रदेशस्तरीय औद्योगिक मेला राखिएको उनको भनाइ छ । ‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय ः समृद्ध र समुन्नत प्रदेशको उदय’ भन्ने मूल नाराका साथ आयोजना गरिएको मेलामा करिब रु १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । एक लाखले अवलोकन गर्ने अनुमान गरिएको मेलाको प्रवेशका लागि सर्वसाधारलाई रु ८० तथा विद्यार्थीलाई रु ५० को टिकटको व्यवस्था गरिएको छ ।
यसैबीच, बुधबारको सांस्कृतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक राजु परियार, पूर्णकला बिसी, सूर्य खड्का र वसन्त लम्साललगायतका कलाकारहरुको प्रस्तुती रहेको मेलाका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले जानकारी दिए । लम्सालकाअनुसारका राष्ट्रिय कलाकारसहित स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुती राखेका लम्सालको भनाइ छ । पूर्णकला र राजु परियारले मेलाको सांस्कृतिक कार्यक्रममा प्रस्तुती राख्ने भएपछि मेलास्थलमा साँझपख दर्शकहरुको बाक्लो उपस्थिति रहेको लम्सालले बताए ।
भोलि कुलेन्द्र बिक आउने
गैँडाकोटमा जारी प्रथम गण्डकी औद्योगिक व्यापार मेला २०७९ अन्तर्गत बिहीबारको सांगीतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक कुलेन्द्र बिक आउने भएका छन् । मेलाको सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालले मेलामा बुधबारको कलाकारमा चर्चित गायक बिकसहित कला लम्साल, दुर्गा सापकोटा, सपना परियार तथा अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहने जानकारी दिए ।

Related Post

Leave A Comment