Latest
img

मौलाकाली केबलकारको आज प्रधानमन्त्रीले उद्घाटन गर्ने

नवलपुरको गैंडाकोटमा बनेको ‘मौलाकाली केबलकार’ आजबाट औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान १० बजे केबलकार उद्घाटन गर्ने कार्यक्रम छ। नयाँ वर्षको अवसर पारेर वैशाख १ गते नै सञ्चालनमा आएको केबलकारको औपचारिक उद्घाटन भने भएको थिएन।

यो केबलकार एक हजार दुई सय मिटर लम्बाइको छ। यहाँ कुल १४ डब्बा (गान्डोला) छन्। एउटा डब्बामा एकपटकमा आठ जना यात्रु बस्न मिल्छ। फेदीबाट केबलकार चढेपछि पाँच मिनेटमा मन्दिर नजिकैको स्टेसनमा पुगिन्छ। त्यहाँबाट करिब ५ मिनेट हिँडेपछि मौलाकालिका मन्दिर पुगिन्छ।

मौलाकाली केबलकार आयोजनामा मुख्य लगानीकर्ता आइएमई समूहको ५१ प्रतिशत सेयर छ। बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहेको समूहका अध्यक्ष चन्द्र ढकालले बताए।

‘मौलाकालिका प्रसिद्ध मन्दिर हो। यो क्षेत्र नेपालकै केन्द्रमा छ। हाम्रो योजना सातै प्रदेशमा केबलकार बनाउने हो। त्यसैअन्तर्गत यहाँ केबलकार निर्माण गरेका हौं,’ ढकालले भने, ‘यसले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने छ।’ यो केबलकार १३ महिनाअघि मात्र बनाउन थालिएको थियो।

यसको माथिल्लो स्टेसनमा चारतारे होटल पनि बन्दैछ। अब पाँच/छ महिनासम्म होटल पनि तयार हुने ढकाल बताउँछन्। होटलमा ६० कोठा, बैंक्वेट हल र रेस्टुरेन्ट बनाउने योजना छ।

दुई अर्ब रूपैयाँमा होटलसहित सबै पूर्वाधार बनाउने गर्ने योजना रहेको उनले बताए।

‘यसबाट तत्काल त प्रतिफल आउँदैन, दीर्घकालमा आउने छ। हामीले जनताको चाहना, सरकारको प्राथमिकता र व्यावसायिक प्रतिफललाई मध्यनजर गरेर लगानी विस्तार गर्दै आएका छौं,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले भने, ‘सरकारले पर्यटन पूर्वाधारमा प्राथमिकता दिइरहेको सन्दर्भमा हामीले यही क्षेत्रमा ठूलो लगानी गरेका छौं।’

आइएमई समूहले काठमाडौंमा चन्द्रागिरि केबलकार सञ्चालन गरिरहेको छ। बुटवलमा अब केही समयभित्रै र अरू प्रदेशमा पनि केबलकार सञ्चालनको तयारी भइरहेको ढकालले बताए।

उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन नवलपुर क्षेत्रको प्रवर्द्धनमा केबलकारको भूमिका महत्वपूर्ण हुने बताउँछन्।

‘चितवन आउने पर्यटकका लागि यो मुख्य आकर्षण हुनेछ। गर्मीयाममा अझ उपयुक्त गन्तव्य बन्नेछ,’ भट्टचनले भने।  मौलाकालिका मन्दिरबाट चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न सकिन्छ। केबलकार सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढेको भट्टचनले बताए। छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने, सहरको रमझम र प्राकृतिक दृश्यावलोकनमा रमाउन चाहनेका लागि मौलाकालिका एक उत्कृष्ट गन्तव्य बनेको उनको भनाइ छ।

नारायणगढबाट नारायणी नदीको पुल पार गर्नेबित्तिकै दाहिनेतर्फ दुई किलोमिटरमा मन्दिर फेदीको प्रवेशद्वार पुगिन्छ। मौलाकाली सामुदायिक वन र मौलाकालिका धार्मिक वनभित्र रमणीय हरियाली वातावरणमा केबलकार टप स्टेसन पुग्छ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिग्राम सापकोटाले केबलकार सञ्चालनमा आएसँगै भक्तजनको संख्या बढेको बताए।

‘केबलकार सञ्चालनमा आएपछि करिब २० प्रतिशत भक्तजन थपिएका छन्,’ उनले भने। अब केबलकारमार्फत दैनिक छ हजार यात्रु आवतजावत गर्न सक्नेछन्। सापकोटाका अनुसार यहाँ वर्षमा कम्तिमा तीन लाख ५० हजार भक्तजन पुग्छन्। ऐतिहासिक महत्वको यो मन्दिर चार सय ५० वर्ष अगाडि सेन राजाका पालामा निर्माण भएको हो।

डाँडाको टुप्पामा रहेको सानो मन्दिरमा पहिले स्थानीय आदिवासीले मात्रै पूजाअर्चना गर्थे। सोह्रौं शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कलिकाको नाममा ‘प्रतीक’ को प्रतीकात्मक प्रस्तुतिस्थल सिर्जना गरेपछि पर्वत ‘मौला पहाड’ को नाम राखिएको किम्बदन्ती छ। हिन्दु पौराणिक कथाअनुसार देवी काली वा कलिका माईलाई ऊर्जा, शक्ति र नयाँ कार्यको सुरूआतको प्रतीक मानेर पूजा गरिन्छ।

केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ। त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको कम्पनीले जनाएको छ। कम्पनीले पूर्वी नवलपरासीकै दुर्गम पहाडी गाउँ मिथुकरमको जग्गा किनेर सट्टाभर्ना गरेको हो।

सेतोपाटी

Related Post

Leave A Comment