Latest
img

घडियाल काव्य उत्सवमा वातावरण संरक्षणमा जोड

देवचुली – नवलपरासी पूर्वको देवचुली नगरपालिकामा घडियाल काव्य उत्सव- २०८० शनिबार समापन गरिएको छ । शुक्रबारबाट सुरु भएको कार्यक्रम शनिबार समापन भएको हो  ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् नवलपरासीपूर्व-१ का संघीय सांसद डाक्टर शशांक कोइरालाले शुक्रबार उत्सवको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै सांसद कोइरालाले घडियालको संरक्षण गर्नु नागरिक र सरकार दुबैको कर्तव्य भएको बताए । घडियालको संरक्षणका लागि सबैभन्दा पहिला पानीको संरक्षण गर्न जरुरी रहेकोे पनि कोइरालाले बताए । `पानी सफा राख्न र पानीका मुहान जोगाउन सबैले ध्यान दिनु जरुरी छ´, कोइरालाले भने । मानिसले दिनदिनै प्रकृतिलाई नास गर्दै गैरहेको हुँदा यो चिन्ताको विषय भएको कोइरालाले बताए । प्रकृतिलाई जोगाउन सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न कोइरालाले सबैलाई आग्रह पनि गरेका छन् ।

महेन्द्र राजमार्गको फारम चोकबाट १ किलोमिटर दक्षिण नारायणी नदी किनारमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा गरिएको यो कार्यक्रम ह्याप्पी एफएमको आयोजनामा गरिएको दोस्रो शृङ्खला हो । पाँच वर्षअघि २०७५ सालमा घडियाल काव्य उत्सवको पहिलो संस्करण आयोजना गरेको स्थानीय ह्याप्पी एफएमले विषयवस्तु र मुद्धालाई परिस्कृत र परिमार्जित गर्दै दोस्रो संस्करण आयोजना गरेको हो । सन् १९७० देखि नै दुर्लभ मानिएको अति सङ्कटापन्न जीव घडियाल गोहीको साहित्यमार्फत संरक्षणका लागि घडियाल काव्य उत्सव-२०८० आयोजना गरिएको एफएमका प्रबन्ध निर्देशक दिपेश कडरियाले बताए । यो उत्सवको मुख्य संरक्षकका रूपमा देवचुली नगरपालिका रहेको छ ।

घडियाल काव्य उत्सवको पहिलो दिन शुक्रबार `सङ्कटमा घडियाल : लोभदेखि लोपसम्म´, `वेग र भेगको दोसाँधमा नारायणी´, `शिक्षाको संरक्षण कि संरक्षणका लागि शिक्षा´, `चराचरमा चरा´, `नवलपुरमा राष्ट्रिय निकुञ्ज आवश्यकता कि बाध्यता´ गरी ५ वटा कार्यक्रम भएका छन् ।
कार्यक्रमका लागि पिप्रहरस्थित होमस्टे परिसरमा खरको छानो हालेर आकर्षक मञ्च बनाइएको थियो । खर र बाँसबाट निर्मित मञ्चमा परालको गुन्द्री ओछ्याइएको थियो भने कोर्को, हलो, जुवा, फुर्लुङ, ढडिया, ठेकी, डालोलगायतका परम्परागत सामग्रीहरूले सजाइएको थियो ।

आकर्षक मञ्चमा पहिलो कार्यक्रम `संकटमा घडियाल : लोभदेखि लोपसम्म´ शीर्षकमा छलफल गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज सौराहाका सेक्टर प्रमुख सरोजमणि पौडेल, डब्लूडब्लूएफ नेपालका नेपाल प्रमुख डाक्टर घनश्याम गुरुङ र पूर्व संरक्षण अधिकृत रामप्रित यादवसँग करुणासागर सुवेदीले छलफल चलाए । यो सेसनमा घडियाललाई लोप हुन नदिन पानी र वातावरण जोगाउनुका साथै यसको चोरीसिकारी हुन नदिने कुरामा जोड दिइएको थियो ।

त्यसैगरी दोस्रो सेसनमा `वेग र भेगको दोसाँधमा नारायणी´ शीर्षकमा छलफल भएको भयो । पूर्वमन्त्री गणेश शाह, गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी र विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीसँग खिमानन्द भुसालले बहस गरे । यो सेसनमा नारायणी किन साँघुरो हुँदै गयो, पानी किन सुक्न थाल्यो भन्ने विषयमा छलफल भएको थियो । त्यसैगरी तेस्रो कार्यक्रम अन्तर्गत `शिक्षाको संरक्षण की संरक्षणका लागि शिक्षा´ शीर्षकमा बहस भयो । मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारी, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह र नेपाल वातावरण पत्रकार समूहकी अध्यक्ष रोशनी अधिकारीसँग डाक्टर भूमिराज चापागाईंले बहस गरे । यो छलफल कार्यक्रममा वातावरणलाई कसरी जोगाउने र घडियालको संरक्षण कसरी गर्ने भन्ने बारेमा छलफल भएको थियो । पानीको संरक्षण र नागरिकको आनीबानीमा ध्यान दिन सकेमा वातावरणको संरक्षण हुने यो छलफलको सन्देश थियो ।

पहिलो दिनको चौंथो कार्यक्रममा `चराचरमा चरा´ शीर्षकमा छलफल भयो । बर्ड लाइफ इन्टरनेशनलका एसिया पार्टनरसिप म्यानेजर डाक्टर हुम गुरुङ, पंक्षी संरक्षण संघ नेपालका प्रोजेक्ट अफिसर देउबहादुर राना र संरक्षणकर्मी डिबि चौधरीसँग सुवास बस्ताकोटीले छलफल गरे । यो सेसनमा हाम्रो संस्कृति र जीवनसँग पनि चराको परस्पर सम्बन्ध रहेको बारेमा बहस भएको थियो ।

पहिलो दिनको अन्तिम कार्यक्रम अन्तर्गत `नवलपुर राष्ट्रिय निकुञ्ज : आवश्यकता की वाध्यता´ शीर्षकमा छलफल भएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल पुर्जा मगर, गण्डकी प्रदेशका प्रदेश सभा सदस्य महेन्द्रध्वज जिसी र संरक्षणकर्मी विष्णुप्रसाद अधिकारीसँग पत्रकार नारायण शर्माले छलफल चलाए । निकुञ्जको मुख्य कार्यालय चितवनमा रहेको र नवलपरासीबासीले निकुञ्ज सम्बन्धित ससाना कुरामा पनि सेवा लिन जिल्ला बाहिर जाँदा सास्ती खेप्नुपरेको विषयमा चर्चा गरिएको छ ।

घडियाल काव्य उत्सव – २०८० अन्तर्गत दोस्रो दिन शनिबार ४ वटा सेसन भएका छन् । पहिलो सेसनमा काव्य वाचन भएको छ । काव्य वाचनको यो शृङ्खलामा गोविन्दराज विनोदी, दीपक सोती, कृष्णादेवी शर्मा, करुण लम्साल, सरोज उजाड, सञ्जय भट्टराई, विक्रम ढकाल अनुराग, निमा पौडेल तिवारी, भूपिन, ईश्वर कँडेल, रमेश प्रभात, सुरेन्द्र अस्तफल, त्रुपक, प्राञ्जल, दिग्गज धौराली, सुशील सापकोटा, प्रदीप रोदन, आदर्श सुशील र मानबहादुर खड्काले रचना वाचन गरे । त्यसैगरी दोस्रो कार्यक्रम अन्तर्गत `प्रकृतिसँग साहित्य´ मा छलफल भएको छ । यो कार्यक्रममा कलाकार राजेश हमाल, कवि भूपिन र पर्यटन व्यवसायी सन्तोष धितालसँग कवि ईश्वर कँडेलले वार्ता गरेका थिए । छलफलमा बोल्दै महानायक राजेश हमालले साहित्यमा प्रकृतिको वर्णन हुने भएकोले प्रकृतिलाई बचाउन सबैजना लाग्नुपर्ने बताए । `हिजोआज विकासको नाममा प्रकृतिको विनाश भैरहेको छ, विकास रोक्ने भन्ने कुरा भएन तर प्रकृतिको कम विनाश हुनेगरी काम गर्नुपर्छ´, हमालले भने ।

त्यसैगरी तेस्रो कार्यक्रम अन्तर्गत `शीरको गाथा तीरको व्यथा´ शीर्षकमा बहस भएको छ । यो सेसनमा जिल्ला समन्वय समिति नवलपरासीकी उपप्रमुख शकुन्तला लम्साल, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का र देवचुली नगरपालिकाका प्रवक्ता तिलप्रसाद काफ्लेसँग पत्रकार दीपक भट्टराईले छलफल गरेका छन् । नवलपरासी क्षेत्रमा पहाड र तराइको संयोजन भएकोले यसको विविधता उदाहरणीय रहेकोे मानबहादुर खड्काले बताए । प्रकृतिको दोहन र विनाशलाई कम क्षतिमा विकास निर्माणलाई निरन्तरता दिनुपर्ने प्रवक्ता काफ्लेले बताए

उत्सवको अन्तिम सेसन अन्तर्गत `वैभवशाली देवचुली´ शीर्षकमा बहस भएको छ । यो सेसनमा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपाने, देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी र उपसचिव विष्णुप्रसाद भुसालसँग कोपिला भण्डारीले संवाद गरेका छन् । समापन कार्यक्रममा नवलपरासीपूर्वका ८ वटै पालिकाका सांस्कृतिक प्रस्तुतिहरू राखिएको थियो । जिल्लाको पर्यटन प्रबर्द्धन र साहित्य विकासमा महोत्सवले सहयोगी भूमिका खेल्ने विश्वास लिएको ह्याप्पी एफएमका स्टेशन म्यानेजर आदर्श सुशीलले बताए ।

Related Post

Leave A Comment