Latest
img

चौकीडाँडामा प्याराग्लाइडिङसँगै पर्यटनलाई विस्तार गरिने

भरतपुर- भरतपुर महानगरपालिका वडा नम्बर- २९ स्थित चौकिडाँडामा सुरु भएको प्याराग्लाइडिङ्गमा पर्यटकहरुको चहलपहल बढाउन होटल व्यावसायीहरुले सहयोग गर्ने भएका छन् ।

हिमालय फ्रन्टियर्स प्याराग्लाईडिङ प्रालिले सोमबार दासढुङ्गामा राखेको चितवनको पर्यटन विकासमा प्याराग्लाइडिङ नामक अन्तरक्रिया कार्यक्रममा होटल व्यावसायीहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । होटल व्यवसायी महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष दिनेशकुमार चुकेले नयाँ पर्यटकीय गन्तव्यले पर्यटकलाई चितवनको बसाइ लम्ब्याउने भएकाले त्यस्ता गन्तव्यको प्रबर्द्धनमा होटल व्यवसायीले सघाउने बताए । `चितवनका लागि यो नितान्त नौलो र नयाँ गन्तव्य हो, यसले चितवनमा पर्यटक भित्र्याउन थप मद्दत पुग्छ´, उनले भने ।

बैशाख १ गतेबाट भरतपुर-२९ चौकीडाँडाबाट सुरु भएको प्याराग्लाईडिङले चितवनको पर्यटनमा नयाँ आयाम थपेको छ । प्याराग्लाइडिङको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक रुपमा उद्घाटन गरेका थिए । पोखराको सारङकोटमा १० वर्षदेखि प्याराग्लाइडिङ गरिरहेको उक्त कम्पनीले व्यावसाय विस्तार गर्दै चितवनमा पनि ल्याएको हो ।

३० मिनेटको प्याराग्लाइडिङका लागि अहिले ६ हजार रुपैयाँ लाग्ने हिमालय फ्रन्टियर्स प्याराग्लाईडिङ प्रालिले जनाएको छ । चौकीडाँडालाई विशेष पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न बम्जी जम्प, होटल, हिल स्टेशन बनाउने गरी कम्पनीले अध्ययन सुरु गरिसकेको जनाएको छ ।

होटल व्यवसायी सङ्घ चितवनका अध्यक्ष केशव हाडखोलेले भरतपुरका सबै होटलले प्याराग्लाइडिङको प्रबर्द्धनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । `हामी भरतपुरवासीका लागि यो झनै खुसीको कुरा हो, आफ्नै ठाउँमा नयाँ गन्तव्यको सुरुआत हुनु गौरवको विषय हो´, उनले भने ।

हिमालय फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजयबहादुर घलेले पहिलोपटक जिल्लामा सुरु गरिएको प्याराग्लाइडिङले चितवनको पर्यटनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले प्याराग्लाइडिङ प्रबर्द्धनका लागि सबै होटल व्यवसायीको साथ सहयोग आवश्यक रहेको भन्दै छिट्टै विभिन्न प्याकेज घोषणा गरिने बताए । उनले भने, `चितवनमा नयाँ पर्यटकीय गन्तव्यको विकास गरौँ भन्ने उद्देश्यले हामीले प्याराग्लाइडिङ सुरु गरेका हौँ, यो हाम्रोमात्र होइन, चितवनवासीको सम्पत्ति हो, यसलाई जोगाइराख्न सबैको सहयोगको खाँचो छ ।´

प्याराग्लाइडिङले चितवनमा पर्यटकका लागि अर्को आकर्षण थपेको र जसले पर्यटकको बसाइ लम्बाउने भन्दै कार्यक्रममा होटल व्यावसायीले खुसी व्यक्त गरेका छन् ।

Related Post

Leave A Comment