Latest
img

खाद्यान्नमा आत्मनिर्भर नहुदा बाहिर बाट आयात गर्नु पर्ने अवस्था

मध्यविन्दु – नवलपरासी(बर्दघाट सुस्तापूर्व) कृषिमा आत्मनिर्भर नहुदा बाहिर बाट खाद्यान्न आयात गर्नु परेको छ । उत्पादित खाद्यान्नले जिल्लाबासीलाई नै खान पुग्दैन् ।

जिल्लामा रहेका आठवटै पालिकाले कृषिलाई प्राथमिकतामा राखेपनि जिल्लाबासीलाई खान पुग्ने अन्नबाली समेत जिल्लामा नै उत्पादन हुन नसकेको तथ्याङ्क देखिएको छ । जिल्लामा उत्पादित खाद्यान्न अपुग भएपछि बाह्य क्षेत्रबाट खरिद गर्नुपर्ने अवस्था छ । जिल्लामा मुख्यगरी धान, गहुँ, मकै, कोदो, जौ र फापर उत्पादन र खेती हुँदै आएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख गोपाल लामिछानेका अनुसार जिल्लामा उत्पादित खाद्यान्न बालीले जिल्लालाई नै थेग्न सक्दैन ।

प्रति व्यक्ति प्रति वर्ष १८१ किलोग्राम खाद्यान्न आवश्यक पर्छ । केन्द्रको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० मा धान, गहुँ, मकै, कोदो, जौ र फापर गरी खानयोग्य ६२ हजार ४५ मेट्रिक टन खाद्य बाली उत्पादन भएको प्रमुख लामिछानेले बताउनु भयो ।
कृषि खाद्यान्न बालीमा आत्मनिर्भर हुनका लागि जिल्लामा एक वर्षमा ६८ हजार ९८० मेट्रिक टन आवश्यक पर्छ । जिल्लामा बसोबास गर्ने तीन लाख ८१ हजार १०५ जनसंख्यालाई यहाँको उत्पादनले नपुग्ने गरेको उहाँले बताउनु भयो ।

“जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा ८३ हजार १२७ मेट्रिक टन धान उत्पादन भएको थियो, जसमा खानको लागि योग्य धान ४२ हजार ९९ दशमलव ६४ मेट्रिक टन रहेको छ” उहाँले भन्नु भयो “उत्पादित धान मध्ये एक हजार एक दशमलव नौ मेट्रिक टन बीउको रुपमा प्रयोग भएको छ भने पशुपन्क्षी आहारमा आठ सय ५९ मेट्रिक टन धान प्रयोग हुने गरेको छ ।”

त्यस्तै गहुँ २१ हजार २१८ मेट्रिक टन उत्पादन भएकोमा खानको लागि योग्य १४ हजार ४४९ मेट्रिक टन मात्र रहेको कृषि ज्ञान केन्द्र नवलपुरका सुचना अधिकारी शंकर पौडेलले बताउनु भयो । “उत्पादित मध्ये २९४ मेट्रिक टन पशुपन्क्षीको आहारको रुपमा प्रयोग हुने गरेकोे छ बीउको रुपमा आठ सय ९३ मेट्रिक टन प्रयोग हुने गरेको छ” उहाँले भन्नु भयो “मकै १३ हजार ५२० मेट्रिक टन उत्पादन भएको थियो, जसमा खानका लागि योग्य मकै पाँच हजार ८४७ मेट्रिक टन रहेको छ । उत्पादन मकै मध्य बीउको लागि एक सय ३७ मेट्रिक टन प्रयोग हुने गरेको छ । त्यस्तै पशुपन्क्षी आहारमा तीन हजार ८९८ मेट्रिक टन मकै प्रयोग हुने गरेको छ ।”

जिल्लामा कोदो उत्पादन निकै कम हुने गरेको छ । अघिल्लो आर्थिक वर्षमा २८५ मेट्रिक टन कोदो उत्पादन हँुदा १० प्रतिशत मात्रै भण्डारण गरिने गरेको र अझै १४ दशमलव ३८ मेट्रिक टन अपुग हुने गरेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख लामिछानेले बताउनु भयो । फापरको उत्पादन ९५ मेट्रिक टन हँुदा खानका लागि योग्य फापर २३ मेट्रिक टन रहेको भने जिल्लामा जौ खेती भने हुन छोडेको उहाँले बताउनु भयो । जिल्लामा दलहन र तेलहन बाली पनि अपुग हुने गरेको प्रमुख लामिछानेले बताउनु भयो । “दलहन बाली उत्पादन कम हुदा आर्थिक वर्ष २०७९/०८० मा चार हजार ९०८ हेक्टर क्षेत्रफलमा दलहन खेती गरिएको थियो”उहाँले भन्नु भयो“जसमा उत्पादन पाँच हजार ५२६ मेट्रिक टन रहेको छ, उत्पादन मध्ये खानका लागि योग्य दलहन चार हजार ८०५ दशमलव ५३ प्रतिशत रहेको छ ।”

तथ्याङ्क अनुसार जिल्लामा ६१ दशमलव ७९ मेट्रिक टन दलहनको कमि रहेको छ । त्यस्तै जिल्लामा तेलहनको उत्पादन पनि दुई हजार ४४६ दशमलव ५२ प्रतिशतले कम हुने गरेको प्रमुख लामिछानेले बताउनु भयो ।

 

Related Post

Leave A Comment