Latest
img

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को सिमाना हुँदै बग्ने नारायणी नदीले सतर्कता तह पार गरेको छ । जल मापन केन्द्र देवघाटले जनाएअनुसार नदीले आज बेलुका ९ः१५ बजे सतर्कता तह पार गरेको हो ।

देवघाटको जल मापन केन्द्रका अनुसार अहिले नारायणी नदीमा सात दशमलव ३९ मिटर पानीको सतह रहेको छ । देवघाटमा सात दशमलव तीन मिटर पानीको सतह पुग्दा सतर्कता तह मानिन्छ ।

नदीमा यसअघि गत असार २३ गते पानीको सतह सात दशमलव ४२ मिटर पुगेको थियो । नारायणी नदीमा पानीको सतह अझै बढ्दो क्रममा रहेको हुँदा नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन जल मापन केन्द्र देवघाटले अनुरोध गरेको छ ।

नारायणी नदीको जल मापन केन्द्रमा पानीको सतह नौ मिटर पुगेपछि खतराको तह मानिन्छ । नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि जिल्लाको नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । नारायणी नदीको बाढीबाट जिल्लाको गैँडाकोट, मध्यविन्दु, कावासोती र देवचुली नगरपालिकाका नदी तटीय वडाहरू डुबान तथा कटानको जोखिममा रहेका श्रेष्ठको भनाइ छ ।

Related Post

Leave A Comment