Latest
img

कावासोती – कुमसोत –बोझापोखरी सडक सधैँको सास्ती

नवलपुर । करिब तीन दशक अघि जिल्लाको पहाडी क्षेत्रलाई जोड्ने गरि खोलिएको कावासोती – कुमसोत –बोझापोखरी सडक स्तरोन्नतिको कामले अझै पूर्णता पाउन सकेको छैन । सडकको स्तरोन्नति नहुँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रको यात्रा सधैँ सास्तीपूर्ण हुने गरेको छ । यस सडक खण्डले जिल्लाको पहाडी क्षेत्र अन्र्तगत पर्ने बौदीकाली गाउँपालिका ,बुलिङटार गाउँपालिका र हुप्सेकोट गाउँपालिकाको केही वडालाई पूर्व पश्चिम राजमार्गसँग जोड्ने काम गर्दछ ।
पहाडी क्षेत्रलाई राजमार्ग तथा सदरमुकामसँग जोड्ने मुख्य सडक जीर्ण हुँदा यात्रा सधैँ कष्टपूर्ण हुने गरेको बौदीकाली –५, बबकका स्थानीय गेस बहादुर रानाले गुनासो गर्नुभयो ।

कावासोती – कुसोत –बोझापोखरी – धौबादी हुँदै बौदिकाली र बोझापोखरी –अर्खला हुँदै बुलिङटार सम्म यो सडक जोडिएको छ । करिब ४५ किलोमिटर लम्बाइको यो सडक कालिगण्डकी करिडोरमा गएर जोडिन्छ । जिल्लाकै पहाडी क्षेत्र जोड्ने मुख्य सडकको स्तरोन्नति नहुँदा पहाडी क्षेत्रका बासिन्दाले कष्टपूर्ण र जोखिम पूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको रानाले गुनासो गर्नुभयो । ‘पहाडी क्षेत्रका सबैले प्रयोग गर्ने पुरानो बाटो हो, राम्रो भएर सहज यात्रा गर्नु हाम्रो लागि सपना जस्तो भएको छ , बर्खामा पहिरो जाँदा पटक पटक अवरुद्ध हुन्छ, कति सयम गाडिनै चल्न सक्दैन ’ रानाले भन्नुभयो ।पहाडी जिल्लाको प्रवेशद्वार रुपमा रहेको कुमसोत –बोझापोखरी खण्डमा वर्षामा पटक पटक पहिरो जाने समस्या रहेको छ । पाङ्गे्र क्षेत्रमा पहिराको समस्याले वर्षामा विभिन्न समय यातायात पूर्ण रुपमा अवरुद्ध हुने गरेको पाङ्गे्रका तुलबहादुर रानाले बताउनुभयो ।

पोखरी –बुलिङटार खण्डको अर्खलामा समेत पहिराको समस्या कायम रहेको छ । बाटो स्तरोन्नतिको काम गर्दा पहिरो नियन्त्रणका उपाय नखोज्दा यहाँ सधैँको समस्या हुने गरेको उहाँको भनाई छ ।पहाडी क्षेत्र जोड्ने सडक जीर्ण हुँदा सो क्षेत्रमा अन्य विकासका पाटो ओझेलमा पर्ने गरेको छ । सुन्तला, अदुवा, अमिलो, अमृसो, भुइँकटर लगायतका कृषि उत्पादन प्रचुर हुने गरेको भएपनि यातायातकै समस्याका कारण सहज रुपमा बजारिकरण हुन नसकेको बौदिकाली –४, का कृषक पदमबहादुर पुलामीले बताउनुभयो । ‘बाटो ठिक हुने थियो भने , यहाँका हरेक उत्पादनले सहज रुपमा बजार पाउने थियो, कृषिबाटै पहाडी क्षेत्रका बासिन्दाको आर्थिक विकासमा सहयोग पुग्ने थियो, तर बाटो उस्तै परे बर्खामा सधैं  बन्द जस्तै हुन्छ, अन्य समयपनि खासै ठिक हुन्न’ पुलामीले भन्नुभयो ।

कावासोती – हात्तीखोर – कुमसोत खण्ड समेत स्तरोन्नतिको काम हन सकेको छैन । जिल्लाको सदरमुकाम देखि पहाडी क्षेत्र छिचोल्दै प्रदेश राजधानी पोखरा जोड्ने सडकको रुपमा समेत रहेको यस खण्ड निर्माणको काम थालिएपनि पूर्णता पाउन सकेको छैन । नवलपुरको पहाडी क्षेत्रको प्रमुख पहुँचमार्गको रुपमा रहेको कावासोती – कुमसोत –बोझापोखरी– कोखेटार सडक स्तरोन्नतिको काम विसं २०७४ मा सुरु गरिएको थियो । तीन वर्षमा सम्पन्न गर्ने योजनाका साथ सडक स्तरोन्नतिको काम सुरु गरिएको थियो । यस अवधिका कामले पूर्णता नपाएपछि पटक पटक म्याद थप गरेपनि काम पुरा हुन सकेन ।कावासोती – कुमसोत –बोझापोखरी पहिलो खण्ड र बोझापोखरी – अर्खला – कोखेटार गरि दुई खण्डमा काम गरिएको थियो । पहिलो खण्डमा १४ किलोमिटर कालोपत्रे गर्ने र ६ किलोमिटर ग्राभेल गर्ने , दोस्रो खण्डमा २० किलोमिटर ग्राभेल गर्ने गरि काम गरिएकोमा दोस्रो खण्डको काम सकिएको भएपनि पहिलो खण्डको काम बाँकी रहेको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजेन्द्र महर्जनले बताउनुभयो ।

पछिल्लो पटक थपिएको म्याद गएको चैतमा सकिएको छ । पहिलो खण्डमा करिब ८ किलोमिटर कालोपत्रे गर्ने र ६ किलोमिटर ग्राभेल गर्ने काम बाँकी छ । निर्माणको म्याद सकिएकाले अब सरकारले केन्द्रबाट म्याद थप गरे काम अघि बढ्ने नत्र निर्माण कम्पनीलाई जरिवाना गरि अर्को प्रक्रियाका सुरु हुने इन्जिनियर महर्जनले बताउनुभयो । ‘निर्माणको म्याद सकिएको छ, पहिलो खण्डको काम बाँकी छ, अब केन्द्रबाट सरकारले म्याद थप गरे काम अघि बढ्छ ,नत्र अर्को प्रक्रियामा जानुपर्ने हुन्छ’ इन्जिनियर महर्जनले भन्नुभयो । पहिलो खण्डमा सन्तोषी – रौताहा – हरिहरि जेभी र दोश्रो खण्डमा पप्पुकोशी – न्यौपाने – बन्धना भगवती जेभीले निर्माणको काम गरेका थिए । दुवै खण्ड गरि करिब रु ८४ करोड ९८ लाख ८ हजार २४१ मा सडक स्तरोन्नतीका लागि ठेक्का सम्झौता भएको थियो ।

Related Post

Leave A Comment