Latest
img

सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि आज र भोलि पार्टी कार्यालयमा राखिने

काठमाडौँ – नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको शव आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालयमा राखिने भएको छ।

भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार हुने इलाम १ का सांसद महेश बस्नेतले जानकारी दिए। उनका अनुसार नेम्वाङको शब अहिले ७ बजे ललितपुर, च्यासलस्थित पार्टी कार्यालय लगिँदै छ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्डले नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताउँदै  दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाएका थिए ।

स्नातक अध्ययनका क्रममा विसं २०२८र २०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति समेत भएका थिए।

विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र मालेमा सङ्गठित उनी एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।

नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष रहेका थिए ।

विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए ।

Related Post

Leave A Comment