भाद्र २६, २०८० मंगलबार
मध्यविन्दु
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ वाट सात महिनाको बाघलाई उद्धार गरिएको छ । तीन दिनदेखि मानबस्तीमा डुल्दै गरेकोे बाघलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले नियन्त्रणमा लिएर उद्धार गरेको हो ।
चार वटा हात्तीसहित आएको निकुञ्ज टोलीले बाघलाई बेहोस बनाउने सुई लगाएर नियन्त्रणमा लिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले बताउनु भयो ।
“निकुञ्जको टोलिले नियन्त्रणमा लिएको बाघ छ देखि सात महिनाको पोथी बाघ हो”उहाँले भन्नु भयो “बाघको स्वास्थ्य परीक्षण गरेर कहाँ छोड्ने भन्ने निर्णय गर्छौ” उमेर सानो भएका कारण उक्त बाघले आमासँग नरहेको अवस्थामा सिकार गर्न समेत नजान्ने भएकाले अवस्था हेरेर कहाँ छोड्ने वा पाल्ने भन्ने निर्णय पछि गरिने तिवारीले बताउनु भयो ।
मानबस्तीमा बाघ आएको जानकारीका आधारमा निकुञ्जको टोलीले निगरानी बढाइएको थियो । आमासँग छुटेको बाघ गाउँतिर आएपछि अलमलिएर जङ्गगल जान नजानेको कारण उद्धार गरिएको तिवारीले बताउनु भयो । एउटै क्षेत्रमा डुलिरहेका कारण नियन्त्रणमा लिन सजिलो भएको निकुञ्जको टोलीले जनाएको छ । “बाघ सामान्यतः चार वर्षको उमेरसम्म आमासँगै हिड्ने गर्दछ” सुचना अधिकारी तिवारीले भन्नु भयो ।
Leave A Comment