Latest
img

आयुर्वेद उपचारमा सेवाग्राहीको आकर्षण बढ्दो

मीना कंडेल

कावासोती – पछिल्लो समय आयुर्वेदतर्फ नागरिकको विश्वास बढेको पाइएको छ । कम खर्चिलो र आयुर्वेदिक औषधिले अन्यले भन्दा स्वास्थ्यमा कम असर गर्ने विश्वाससँगै आयुर्वेदप्रति जनताको आकर्षण बढ्दै गएको हो ।

कावासोती २ का ७७ वर्षीय नियमकान्त घिमिरे वाथको रोगी हुनुहुन्छ । लामो समयदेखि वाथबाट ग्रसित उहाँ उपचारको लागि धेरै ठाउँमा पुग्नुभयो तर निको नभएपछि आयुर्वेदिक औषधालयमा आउने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “छिटो निको होला भनेर एलोपेथिक औषधिको प्रयोग धेरै गरे तर सन्चो भएन । अहिले आयुर्वेदिक औषधालयमा आएर मिश्रणयुक्त जडिबुटिको औषधि खाने र सेकाउने गरेको छु, पहिलेभन्दा अहिले ठिक भएको छ ।”

कावासोती ७ का लिलाधर पोख्रेललाई मधुमेह भएको १९ वर्ष भयो । उहाँ पनि एलोपेथिक औषधिसँगै आयुर्वेद औषधकिो प्रयोग गर्ने गरको बताउनुहुन्छ । एलोपेथिकमा जस्तो धेरैतिर धाउनुपर्ने, लाइन बस्नुपर्ने, रोग अनुसारका चिकित्सक भेट्न समय लिनुपर्ने झन्झटले गर्दा पनि अहिले आयुर्वेदीक उपचारप्रति सेवाग्राहीको विश्वास बढ्दै गएको उहाँको भनाइ छ ।

देवचुलीका शान्ता शर्मालाई आयुर्वेदक औषधिले निको हुन्छ भन्नेमा विश्वास नै लागेको थिएन । ढाडको समस्या रहेको उहाँलाई जब आयुर्वेदिक ओषधालयमा सेवा लिनुभयो त्यसपछि यो सेवाप्रति विश्वास बढ्दै गएको उहाँको भनाइ छ । रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने जडीबुटीजन्य औषधि आयुर्वेदिक स्वास्थ्य केन्द्रमा निःशुल्क पाइने र प्रभावकारी पनि देखिएकाले आयुर्वेदिक सेवाबाट सवैले लाभ लिनुपर्नुे बताउनुहुन्छ ।

अहिले औषधालयमा सेवाग्राहीको चाँप बढेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नवलपुरका प्रमुख सुजता शर्माका अनुसार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा गत वर्ष ०७८।०७९ मा छ हजार तीन सय ६५ महिला र चार हजार पाँच सय ५४ पुरुष गरि दश हजार ९२० जनाले सेवा लिएका छन् । ७९-८० मा दश हजार पाँच सय ९९ महिला र सात हजार चार सय ४९ पुरुष गरि अठार हजार ४८ सेवाग्राहीले सेवा लिएका छन् । विशेषज्ञ सहितको ओपिडी सेवा, ल्याब सेवा, फिजियोथेरापी, आयुर्वेदिक थेरापी, ज्येष्ठ नागरिक सेवा र विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यव्रmम सञ्चालन गरिँदै आएको उहाँको भनाइ छ ।

औषधालयमा पेटसम्बन्धी अम्लपित्त, ग्यास्ट्रिक, श्वासप्रस्वास सम्बन्धी रोग, बाथ, मृगौला सम्बन्धी रोग, नाककान घाँटी लगायतका रोग सम्बन्धी सेवा प्रदान गर्ने गरिएको छ । जेष्ठ नागरिकको लागि स्वास्थ्य प्रर्वद्धन कार्यक्रम अन्तर्गत रसायन वर्धक औषधि वितरण गर्ने र पोषण सेवा अन्तर्गत (स्तनपायी) सुत्केरी भइसकेपछि बच्चाका लागि पर्याप्त मात्रामा दुध उत्पादन नहुने महिलाहरूका लागि स्वास्थ्य प्रर्वद्धन गर्न स्तन्यवर्धक औषधि वितरण, हाडजोर्नी र बाथ रोगका बिरामीका लागि पूर्वकर्म थेरापी लगायतका कार्यक्रम सञ्चालन गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नवलपुरका वैद्य निरीक्षक डिल्ली राम कंँडेलले जानकारी दिनुभयो ।

यस्तै, कावासोतीमा रहेको कावासोती आयुर्वेद औषधालयमा गत वर्ष आठ हजार तीन सय ४२ जनाले सेवा लिएका छन् । ७९-८० मा नौ हजार पाँच सय ५१ सेवाग्राहीले सेवा लिएका छन् । जसमध्ये सबैभन्दा बढी ओपिडी सेवा लिनेको सङ्ख्या ६ हजार नौं सय २४ जनाले सेवा लिएको कावासोती आयुर्वेद औषधालयका प्रमुख गोविन्द पौडेल बताउनुहुन्छ ।

पूर्वकर्म थेरापी सेवा हप्ताको तीन दिन प्रदान गर्ने गरिन्छ । सोमबार, बुधबार र शुक्रबार थेरापी सेवा उपलब्ध हुँदै आएको छ । आयुर्वेद देशको एउटा मौलिक चिकित्सा पद्धति हो । अहिले जनमानसमा आयुर्वेदतर्फ आकर्षण बढेको उहाँ बताउनुहुन्छ ।

Related Post

Leave A Comment