कार्तिक ५, २०८० आइतबार
देवचुली- पाल्पाको पर्यटकीय क्षेत्र रानीमहलबाट तानसेन जाँदै गरेको जिप बैकुन्ठे पहाडबाट तल बराङ्गदी खोलामा खस्दा देवचुली नगरपालिकाका ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । प्रहरीले ६ जनाको मृत्यु भएको पुष्टि गरेको र जिपका चालक घाइते भएको जनाएको छ ।
जिप दुर्घटना मृत्यु हुनेमा देवचुली नगरपालिका वडा नम्बर- १६ रजहरका ६५ वर्षका कृष्णबहादुर लोहनी, ५५ वर्षका चुना धिताल, ३५ वर्षका सविना धिताल, ५५ वर्षका पार्वती लोहनी,११ वर्षका सोबिस लोहनी र साढे दुई वर्षका इशव लोहनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटना घाइते ईश्वर लोहनीलाई युनाइटेड मिसन अस्पताल पाल्पा पठाइएको र अवस्था नाजुक रहेको प्रहरीले जनाएको छ । घाइते लोहनी वरचुली माध्यमिक विद्यालयका शिक्षक समेत हुन् । दुर्घटनामा परेका सबैजना एकै परिवारका हुन् । उनीहरू घुमघामका लागि रानीमहल गएका थिए ।
वाग्मती प्रदेशको ७२०९ नम्बरको जिप दुर्घटनामा परेको हो । बैकुन्ठे भीरमा ग्रेड नमिलेको र ठाडै उकालो सडक रहेको छ । छेउतर्फ सुरक्षाका लागिसमेत कुनै सतर्कता अपनाइएको छैन भने केही समययता सडकसमेत बिग्रेर छियाछिया बनेको छ । दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ ।
Leave A Comment