रानीमहल घुम्न गएका लोहनी परिवारको क्षतिले कुमारबस्ती शोकमा - Nepal Frontline
Latest
img

रानीमहल घुम्न गएका लोहनी परिवारको क्षतिले कुमारबस्ती शोकमा

नवलपुर- जनरल खड्ग शमशेरले रानी तेजकुमारीको सम्झनामा ताजमहलकै शैलीमा बनाइएको ‘प्रेमको प्रतीक’ मानिने पाल्पाको रानीमहल घुम्ने योजना देवचुली नगरपालिका–१६ रजहर कुमार बस्तीका लोहनी परिवारले पहिल्यैदेखि बनाएको थियो । यसपटकको दशैंमा फूलपाती भित्राएपछि रानीमहल घुमेर नवमीसम्म फर्किने योजनामा गएको लोहनी परिवार नै दुर्घटनामा परेर हृदयविदारक क्षति पुगेको छ ।

अवोध छोरासहित बाबुआमा, श्रीमती, सासुआमासम्म एकै दुर्घटनामा गुमाएका ईश्वरबहादुर लोहनी होसमा त आए तर अवस्था गम्भीर छ । उनलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको पाल्पा तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुगेका देवचुली नगरपालिकाका अध्यक्ष हरिप्रसाद न्यौपानेले जानकारी दिए ।

लमजुङ बेसीसहर नगरपालिकाको ग्रामीण क्षेत्रबाट रजहर बसाइँ सरेको लोहनी परिवारका ६५ वर्षीय कृष्णबहादुर लामो समय वैदेशिक रोजगारीबाट फर्केर गाउँमै कुटनी–पिसनीको मिल चलाउँथे । केही समयअघि मात्र फर्केका कृष्णबहादुर, श्रीमती ५५ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना धिताल, ११ वर्षीय सोबिस धिताल र अर्का साढे दुई वर्षका नाति र सम्धिनी ५५ वर्षीया चुना धिताल रानीमहल घुम्न निस्केका थिए । घुम्ने टोलीको नेतृत्व गर्दै आफ्नै जीप चलाएर घुमाएर फर्काउने जिम्मा ईश्वरबहादुरको थियो ।

फूलपाती भित्राएर घुम्न निस्केको लोहनी परिवार चढेको जीप अष्टमीका दिन दुर्घटनामा परेर ईश्वरबहादुरबाहेक सबैको मृत्यु भएको हो । ईश्वरबहादुर गाउँकै देवचुली माविमा पढाउँथे । बाबुआमा, सासुआमा, श्रीमती र अवोध दुई छोरा गुमाएका ईश्वरबहादुरको परिवारमा परेको हृदयविदारक ब्रजपातले रजहर कुमारवस्ती नै शोकमा डुबेको वडा नम्बर १६ का अध्यक्ष केशवप्रसाद गौतमले बताए ।

‘यो लोहनी परिवारसँग हाम्रो घर पनि नजिक र सम्बन्ध पनि नजिक थियो । उनीहरु टोलकै विकासको अगुवाइ गर्थे । धुमधामले फूलपाती भित्राएपछि रानीमहल घुम्न भन्दै उनीहरु निस्केका थिए,’ वडाध्यक्ष गौतमले सुनाए, ‘मन्दिरमा डोली भित्राएर दशैं मान्न आउने गरी आफ्नै जीप लिएर गएको परिवारमा परेको व्रजपातले सिंगो रजहर नै शोकमा छ ।’

‘ईश्वरको हातखुट्टामा गम्भीर चोट लागेको अवस्था छ तर होसमा आएको छ । ईश्वरलाई हेलिमा थप उपचारका लागि काठमाडौं पठाउने तयारी हुँदैछ,’ घटनास्थलमै पुगेका देवचुली नगरपालिकाका मेयर हरिप्रसाद न्यौपानेले भने, ‘हृदय नै हल्लाउने गरी घटेको घटनाले सबैतिर सन्नाटा छाएको छ ।’

रजहरमा कुमारवर्ती र कालिका मन्दिर छन् । ती मन्दिरबाट फूलपातीमा डोली निकालेर टोलटोल पुर्याउने र मन्दिरमा ल्याएर भित्राउने गरिन्छ । ईश्वरबहादुरकै नेतृत्वमा टोल–टोलमा पुर्याइएको डोलीमा घर–घरबाट फूल चढाएपछि मन्दिरमा ल्याएर डोली भित्राइएको वडाध्यक्ष गौतमले बताए ।

लमजुङ बेसीसहरबाट रजहर झरेदेखि नै उनीहरु सामाजिक काममा पनि सक्रिय भएकाले धेरै जनासँग नजिक रहेको र दशैंको मुखमा दुर्घटनामा परिवारका अधिकांश सदस्यको ज्यान गएपछि विक्षिप्त बनाएको भन्दै वडाध्यक्ष गौतम आफैं भक्कानिए । ईश्वरबहादुरले लमजुङबाटै धिताल परिवारबाट विवाह गरेका थिए र घुम्नका लागि सासुआमा चुना धिताललाई पनि सँगै बोलाएका थिए ।

‘फूलपाती भित्राउँदा सँगै दशैं भित्राएका छिमेकी र टोलका मानिसहरु आफैं छाँगाबाट खसेझैं भएका छन् । फूलपाती मन्दिरमा त भित्रायौं तर लोहनी परिवारका धेरैलाई एउटै दुर्घटनाले चुँडेर लग्यो,’ वडाध्यक्ष गौतमले गला अवरुद्ध पार्दै भने । परिवारका एक छोरा भुवन अमेरिकाबाट घटना सुनेलगत्तै नेपाल आउँदै छन् ।

प्रहरीका अनुसार रानीमहल घुमेर फर्किने क्रममा बागमती प्रदेश ०१–०२६ च ७२०९ नम्बरको जीप बैकुण्ठे छाँगोमा दुर्घटनामा परेको हो । अक्करे बैकुण्ठ भीरबाट बराङ्दी खोलामा गाडी खसेको पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । ‘दुर्घटना स्थल रानीमहलभन्दा एक किलोमिटर दूरीमा छ । रानीमहल–तानसेन सडक खण्डको बैकुण्ठे भीरबाट जिप बराङ्दी खोलामा खसेको हो,’ सिडिओ बास्तोलाले भने, ‘शव रजहर पठाउने तयारी भइरहेको छ ।’

दुर्घटनाको खबरलगत्तै देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेसहितको टोली युनाइटेड मिसन अस्पतालमा पुगेको थियो ।

साभार अनलाइन खबर

Related Post

Leave A Comment