Latest
img

गैँडा संरक्षणका लागि राइनो गोल्डकप हुने

नवलपुर- विश्वकै दुर्लभ एकसिङे गैँडा संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले ‘राष्ट्रिय स्तरीय राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीता’ आयोजना गरिने भएको छ ।
नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका २ कोल्हुवा स्थित राइनो रङ्गशालामा विगत १० वर्ष देखि सञ्चालन गरिदै आएको प्रतियोगिताको छौँठौ संस्करण यही माघ २७ गते देखि आयोजना गरिने भएको हो ।
नन्द–भाउजू मध्यवर्ती उपभोक्ता समिति संरक्षक एवम् राइनो क्लबको आयोजनामा राष्ट्रिय स्तरीय राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगीताको छौँठौ संस्करण यही माघ २७ गते देखि फागुन ९ गते सम्म सञ्चालन गरिने क्लबका अध्यक्ष दोमन बहादुर भण्डारीले बताउनु भयो ।
“प्रतियोगितामा विभागीय टिम सहीत ए डिभिजनका पाँच वटा टिम, गण्डकी, लुम्बिनी, बाग्मती, मधेस प्रदेश र आयोजक गरी १२ टिम सहभागी हुने छन्”,उहाँले भन्नु भयो । प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख र सिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले आकर्षक पुरस्कार पाउने अध्यक्ष भण्डारीले जानकारी दनु भयो ।
“नेपालकै एक मात्र वन्यजन्तु संरक्षणका लागि आयोजना गरिने फुटबल प्रतियोगिता राइनो संरक्षण गोल्ड कप विगत १० वर्ष देखि आयोजना गरिदै आएका छौ”,उहाँले भन्नु भयो,“समुदाय र राष्ट्रमा नै गैँडा संरक्षणको महत्व दर्साउन यस वर्ष पनि प्रतियोगिता सञ्चालन गर्न लागिएको छ ।”
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा पर्ने भएकाले गैँडाको संरक्षण र यसको महत्व स्थानीयमा सुशुचित गराउन आवश्यक रहेकाले गैँडा संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले बताउनु भयो । “राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता भएकाले खेल र खेलाडीको मध्यम वाट विश्व सामु गैँडा संरक्षणको आवाज फैलाउन मद्धत पुग्ने हामीले ठानेका छौ”,उहाँले भन्नु भयो । प्रतियोगिता सम्पन्न गर्न ७० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

Related Post

Leave A Comment