Latest
img

विश्व नदी दिवसका अवसरमा नारायणी तटिय क्षेत्रमा सरसफाई

गैँडाकोट । १७ औँ विश्व नदी दिवसका अवसरमा नारायणी नदी किनारमा सरसफाई गरिएको छ । तटिय क्षेत्रका वडा कार्यालय, टोल विकास संस्था एवं संरक्षणकर्मीहरुको सक्रियतामा सरसफाइ गरिएको हो । गैँडाकोट नगरपालिकाले नदीलाई छुने नगरपालिका अन्तगर्तका वडा एवं टोल विकास संस्था, सरोकारवालाहरुलाई आफुलाई पायक पर्ने घाट नदी किनारमा सरसफाइ गर्न आह्वान गरे अनुरुप नदी किनारमा सरसफाई गरेका हुन् ।

गैँडाकोट २ मा गैँडाकोट नगरपालिका, सहमति, डब्लुडब्लुएफ, जेसिज, रोटरी, लायन्स एवं लियो क्लबको सहकार्यमा नदी किनारमा सरसफाई गरिएको छ । कार्यक्रममा उपस्थित गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले सरसफाई जीवनमा अत्यन्त आवश्यक रहेको बताउँदै स्वस्थ रहन पनि नदी सरसफाई एवं संरक्षण गर्न सर्बै जुट्नुपर्ने बताउनुभयो ।

सहमतिका कार्यबाहक अध्यक्ष होमनाथ सुवेदीले नदीलाई सफा राख्नु सबैको दायित्व रहेको बताउँदै सबैलाई आफ्नो क्षेत्र लगायत नदीलाई सफा राख्न अनुरोध गर्नुभएको थियो । फोहर व्यवस्थापनमा कडा नियम बनाउन जरुरी रहेको बताउँदै जथाभावी फोहर फाल्न नदिनका लागि नगरपालिकाले नियम बनाउनुपर्ने बताउनुभयो ।

सहमतिका सिमसार क्षेत्र पुर्नस्थापना र नारायणी तटिय सामुहिक प्रयास तथा कार्ययोजना परियोजनाका संयोजक दिनेश बास्ताकोटीले सरसफाई अभियानलाई घरघरमा यो अभियान पु¥याउन आवश्यक रहेको बताउनुभयो । यात्रा गर्दा प्लास्टिक जन्य सामान जथाभावी नफाल्न अनुरोध गर्नुभयो । साथै नदी पानीको मुख्य श्रोत रहेकोले यसलाई सधै सफा राख्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै गैँडाकोट जेसिजका अध्यक्ष शंकर अधिकारीले दिवसका दिन मात्र नभई हरेक दिन हरेक क्षेत्रमा सरसफाई गर्न आवश्यक रहेको बताउनुभयो । रोटरी क्लब अफ गैँडाकोटका अध्यक्ष यदु घिमिरेले सबैको निरन्तर सहयोगले मात्र अभियानले पूर्णता पाउने विश्वास व्यक्त गर्नुभयो ।

सिद्धान्त क्याम्पसका संयोजक रुबी शाहले सरसफाई अभियानमा विद्यालय सधैँ तत्पर रहेको बताउनुभयो । उहाँले सबैजना यसमा लाग्यो भने नदीलाई सफा बनाउन सक्ने बताउनुभयो । प्रहरी, विद्यार्थी, विभिन्न संघ संस्थाका प्रतिनिधि एवं स्थानीयको सक्रियतामा नदी तटिय क्षेत्रमा सरसफाइ गरिएको हो ।

Related Post

Leave A Comment