Latest
img

कावासोती नगरपालिकामा कृषियोग्य क्षेत्रको माटो उपचार सुरु

कावासोती- पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले कृषियोग्य क्षेत्रको माटो उपचार सुरु गरेको छ । माटोको अम्लीयपन बढी हुँदा खेती राम्रो नहुने र उत्पादन समेत घट्ने हुँदा माटो उपचार सुरु गरी कृषि चुनलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ ।

कावासोती नगरपालिकामा दुई हजार पाँच सय हेक्टर खेतीयोग्य जमिन छ । कावासोती नगरपालिका कृषि विकास शाखाका प्रमुख शिवनारायण कुमालले नगरपालिकाको सबै जसो क्षेत्रको कृषियोग्य जमिनको प्रतिनिधित्व हुने गरी गरिएको माटो परीक्षणका क्रममा यहाँको ६१ दशमलव ६६ प्रतिशत क्षेत्रको माटो अम्लीय, २१ दशमलव ६६ प्रतिशत मध्यम र १५ प्रतिशत क्षेत्रको माटो क्षारीय पाइएको बताउनुभयो ।

कावासोती नगरपालिकाको कृषि पकेट क्षेत्रका रूपमा रहेका वडाहरू १, ४, ७, १०, १२, १३ र १७ को माटोमा अन्य वडाको भन्दा बढी अम्लीयपन पाइएको छ । रासायनिक मलको अधिक प्रयोगका कारण माटोको अम्लीयपन बढेको शाखा प्रमुख कुमालले बताउनुभयो । पहिलो चरणमा खराब अवस्थाको माटोको सुधारका लागि ७५ मेट्रिकटन कृषि चुन किसानलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

प्रमुख कुमालले भन्नुभयो, “उत्पादन छिटो लिनका लागि रासायनिक मलको प्रयोग धेरै हुने गरेको छ । यसले कृषकलाई क्षणिक फाइदा दिएपनि माटोको गुणस्तरमा भने असर पुर्‍याएको हुन्छ । यस्तो अवस्थामा दीर्घकालीन रूपमा उत्पादनमा कमी हुने गर्दछ । यसकारण अहिले माटोको उपचारका लागि कृषि चुन आवश्यक पर्ने भएकाले वितरण गरेका हौँ ।” खेतीयोग्य क्षेत्रको माटोको सुधारका लागि कृषि चुन प्रयोगका लागि कृषकलाई प्रोत्साहन सहित रासायनिक मलको अधिक प्रयोग नगर्न सुझाव दिने गरिएको शाखा प्रमुख कुमालले बताउनुभयो ।

नगरपालिकाले माटोको परीक्षण सहित सहज रूपमा सुधारका काम गर्न सकियोस् भनेर डिजिटल स्वाल म्यापिङ सिस्टम समेत तयार पारेको छ । यसबाट कुन क्षेत्रको माटोको अवस्था के रहेको छ भन्ने जानकारी प्राप्त हुने र सोही अनुसार उपचारको काम गर्न सकिने शाखा प्रमुख कुमालले बताउनुभयो । कृषकले समेत आफ्नो क्षेत्रको माटो कस्तो रहेको छ भनेर हेर्न सक्ने उहाँले बताउनुभयो । नगरपालिकाले माटो परीक्षणको रिपोर्टको आधारमा क्रमशः आवश्यक सबै क्षेत्रको माटो सुधारका लागि कृषि चुन वितरण गर्दै जाने उहाँले बताउनुभयो ।

Related Post

Leave A Comment