Latest
img

धौवादी गाउँमा पहिलोपटक विजुली बल्दा स्थानीय खुसी

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका-५ धौवादीमा पहिलो पटक राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । पुरानो बस्ती भएको गाउँ भए पनि सो क्षेत्रमा अहिलेसम्म विद्युत् सेवा नपुग्दा स्थानीयवासीले वैकल्पिक माध्यमबाट बिजुली बत्ती बाल्दै आएका थिए ।

जिल्लाको पहाडी क्षेत्रमा विद्युत् सेवा विस्तार गर्ने गरी बुलिङटार गाउँपालिका-४ बोझा पोखरीमा निर्माण गरिएको विद्युत् सवस्टेशनबाट विद्युत् प्रवाह सुरु गरिएपछि धौवादी क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको हो । केही घरमा सोलर र अधिकांश घरमा टुकी बत्तीमार्फत दैनिकी चलाउँदै आएका स्थानीय राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा पुगेपछि अहिले सहज महसुस गरेका छन् । आफ्नो घरमा विद्युत् सेवा उपलब्ध भएपछि गाउँका सर्वसाधारण खुसी भएका छन् ।

बिजुली नहुँदा कुटानी पिसानीदेखि पढाइ लेखाइमा समस्या भोग्दै आएका स्थानीयवासीले अब भने सहज महसुस गर्न पाएको वडाध्यक्ष पदमबहादुर रानाले बताउनुभयो । “यस क्षेत्रमा ऐतिहासिक रुद्रपुरगढीलगायतका पर्यटकीय क्षेत्र छन् । अहिलेसम्म विद्युत् सेवा नहुँदा पर्यटकको आकर्षण बढाउन सकिएको थिएन । अव गाउँको विकास र आर्थिक गतिविधि चलायमान बनाउन विद्युतीकरणले बाटो खोलिदिएको छ”, उहाँले भन्नुभयो ।

बोझा पोखरीमा सात वर्षअघि निर्माण सुरु गरिएको विद्युत् सवस्टेशनको यसैवर्ष निर्माण पूरा भएपछि जिल्लाको पहाडी गाउँमा विद्युत् विस्तारका लागि सहज भएको नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख सूर्यनारायण मण्डलले बताउनुभयो ।

“जिल्लाको प्रगतिनगरबाट ११ हजार केभीको विद्युत् प्रवाह गरी सवस्टेशन चार्ज गरी स्थानीयस्तरमा वितरण सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “आयोजनामार्फत पोखरीबाट डेढगाउँ जाने बाटोको धौवादीसम्म र बुलिङटार गाउँपालिका क्षेत्रमा ११ हजार केभीको लाइन वितरण हुनेछ ।”

जिल्लाका कतिपय पहाडी क्षेत्र अझै पनि अन्धकार मै छन् । तनहुँतर्फबाट लाइन तानेर बुलिङटार क्षेत्रमा विद्युतीकरण गरिएकोमा अब यही सवस्टेशनको प्रसारण लाइन जोडिने प्रमुख मण्डलले बताउनुभयो । कतिपय स्थानमा लघु जलविद्युतबाट विद्युतीकरण गरिएको भए पनि आवश्यक मागअनुसार आपूर्ति हुन सकेको थिएन । साथै लामो दूरीबाट लाइन ल्याएर विद्युतीकरण गर्दा बेलाबेलामा समस्या उत्पन्न हुने गरेको छ ।

बोझा पोखरीको सवस्टेशनबाट विद्युत् प्रवाह सञ्चालन हुँदा जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणमा सहजता भएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । हुप्सेकोट गाउँपालिकाले उज्यालो हुप्सेकोट कार्यक्रम अन्तर्गत रु १६ करोडको बहुवर्षीय आयोजना सञ्चालन गरी पहाडी गाउँमा राष्ट्रिय प्रसारण लाइन लैजाने कार्यक्रम सुरु गरेको हो । जसअन्तर्गत गाउँपालिकाभित्रका सबै गाउँ बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको गाउँपालिका अध्यक्ष पाण्डेले बताउनुभयो ।

“हुप्सेकोट गाउँपालिका वडा नं ४, ५, ६ मा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुग्न सेकेको थिएन, अहिले गाउँपालिका, प्रदेश र सङ्घ सरकारको संयुक्त लगानीमा सबै गाउँमा विद्युत् पु¥याउन सफल भएका छौँ”, उहाँले भन्नुभयो ।

जिल्लाको पहाडी क्षेत्र बौदीकाली, बुलिङटार र हुप्सेकोट गाउँपालिका विद्युतीकरण गर्ने गरी आयोजना सुरु गरिएको थियो । ठेकेदारले काम नगर्दा लामो समयसम्म अलपत्र बनेको सवस्टेशन निर्माण सकिएपछि अब जिल्लाको पहाडी क्षेत्रमा विद्युतीकरणको बाटो खुलेको छ । बोझा पोखरी सवस्टेशन भारतीय एटुजेड इन्फ्रा इञ्जिनियरिङ कम्पनीमार्फत सव–कन्ट्रयाक्टर त्रिपुरेश्वर र जयदुर्गे इञ्जिनियरिङले रु १२ करोडको लागतमा आयोजना निर्माण सम्पन्न गरिएको हो । रासस

Related Post

Leave A Comment