जेठ ७, २०८१ सोमबार
नविन पौडेल
नवलपुर — पुर्वी नवलपरासीमा ‘चौँथो नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता-२०८१’ सुरु भएको छ । जिल्ला फुटबल संघ, नवलपुरको आयोजनामा सुरु भएको प्रतियोगितामा जिल्लाभरिका १२ वटा क्लब सहभागी छन् । कावासोती नगरपालिका-१२ को डाइमण्ड युथ क्लबको खेल मैदानमा सुरु भएको प्रतियोगिताबाट उत्कृष्ट क्लबले प्रदेशस्तरीय लिग फुटबलमा सहभागी हुने जिल्ला फुटबल संघ, नवलपुरका अध्यक्ष सेतमान पुनले बताए ।
एन्फाको कार्यक्रम अर्न्तगत जिल्लामा रहेका खेलाडीहरुको स्तरवृद्धि र गाउँघरमा रहेका प्रतिभावान खेलाडीको पहिचान र छनोट गर्न प्रतियोगिता आयोजना गरीएको हो । प्रतियोगितामा प्रथम हुने क्लबलाई प्रदेशस्तरीय लिगमा छनोट गर्नुका साथै नगद ८० हजार नगद, दोस्रो हुने समुहलाई ५० हजार र तेस्रो र सान्त्वानालाई नगद २० हजार प्रदान गरिने छ ।
प्रतियोगिताको प्रायोजककोरुपमा सेन्टर कलेज अफ भोकेशनल ट्रेनिङ्ग सेन्टर रहेको छ । प्रतियोगितामा केन्द्रको ए, बी, सी कुनै पनि लिग खेलाडी सहभागी हुन पाउने छैनन् । खेलाडी छनोट गर्दा एक समुहमा कम्तिमा पनि ५ जना खेलाडी १९ वर्ष उमेर समुहको राख्नुपर्ने प्रावधान छ ।
Leave A Comment