मनसुनी विपद्‌मा २५ बालबालिकाको मृत्यु - Nepal Frontline
Latest
img

मनसुनी विपद्‌मा २५ बालबालिकाको मृत्यु

मनसुन भित्रिएयता प्राकृतिक विपद्का घटनामा २५ बालबालिकाको ज्यान गएको छ।

अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर बुधबारसम्म २५ बालबालिकाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ। त्यस्तै, १९ बालबालिका घाइते छन्।

मनसुनी विपद्का घटनामा परी अहिलेसम्म ८३ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए। यस अवधिमा बाढी र पहिरोमा परेर पाँच जना हराइरहेका छन्। जसमा तीन महिला र दुई पुरुष रहेको डीआईजी कार्कीले बताए।

गत जेठ २८ गते पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो। अहिले पश्चिमी क्षेत्रमा सक्रिय रहेको छ।

बाढी र पहिरोमा परेर १०६ जना घाइते छन्। ३८४ पशुचौपाया मरेका छन् भने १३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरीको तथ्यांक छ।

अविरल वर्षापछि आएको बाढीका कारण एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ। यस्तै, १६१ घर डुबानमा परेको र ११६ रोपनी जग्गा पुरिएको प्रहरीले जनाएको छ।

बाढी, पहिरो र डुबानका कारण दुई हजार ९५४ परिवार विस्थापित छन्। उनीहरू आफन्त तथा सार्वजनिक भवनमा आश्रय लिएर बसिरहेका छन्। अहिलेसम्म मनसुनी विपद्बाट १० करोड ७० लाख ४० हजार रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ।

Related Post

Leave A Comment