Latest
img

डेङ्गी का कारण ज्यान गुमाउनेको संख्या ४१ पुग्यो

काठमाण्डौ – डेङ्गीका कारण अहिलेसम्म ४१ जनाको ज्यान गएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हिजो बेलुकासम्मको तथ्यांक अनुसार अहिलेसम्म डेङ्गी भएर ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । डेङ्गी संक्रमितको संख्या ३१ हजार नाघेको छ ।

चाडपर्व तथा पानी परिरहेकाले डेङ्गी अझै फैलिन सक्ने जोखिम रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग निवारण शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले बताउनुभयो ।

बिहान बेलुका चिसो हुन थालेकाले डेङ्गीको संक्रमण केही कम हुने आंकलन गरिए पनि पानी परिरहेकाले जोखिम उस्तै रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अब चिसो सुरु भयो, लामखुट्टे मर्छ भनिहाल्ने अवस्था छैन, पानी परिरहेकाले डेङ्गीको संक्रमण जतिबेला पनि फैलिन सक्छ । पानी पर्न रोकिए पछि भने विस्तारै संक्रमण पनि घट्दै जाने छ ।’

डेङ्गीको संक्रमण फैलिरहेकाले दशैँमा एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गर्दा सचेत रहन पनि उहाँको सुझाव छ । डेङ्गी देशभर फैलिएकाले संक्रमणको जोखिम अझै पनि उच्च छ । दीर्घ र अन्य रोग भएकालाई डेङ्गी भएमा स्वास्थ्यमा थप समस्या हुने भएकाले यस्ता खालका बिरामीलाई बढी सचेत रहन डाक्टर दाहालको सुझाव छ ।

डेङ्गीबाट जोगिने एक मात्रै उपाय भनेको लामखुट्टेको टोकाइबाट नै जोगिनु हो । घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्न, पूरा बाउला भएका कपडा लगाउन र एक हप्ता भन्दा लामो समयसम्म बाल्टीलगायत भाँडोमा पानी जम्मा गरेर नराख्न पनि डाक्टरको सुझाव छ ।

Related Post

Leave A Comment