Latest
img

एकद्वार सङ्कट व्यवस्थापन केन्द्र प्रभावकारी

मीना कंडेल

कावासोती-  नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र प्रभावकारी बनेको छ । मध्यविन्दु जिल्ला अस्पतालको लैङ्गिक हिंसा सम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमा वार्षिक रूपमा हिंसा पीडितहरू आउनेक्रम बढ्दो रहको अस्पतालले जनाएको छ ।

हिंसा पीडित तथा प्रभावित व्यक्तिहरूलाई स्वास्थ्य उपचार लगायत अन्य आवश्यक सेवाहरू एकद्वार प्रणालीबाट प्रदान गर्नका लागि केन्द्रको स्थापना गरिएको हो । जिल्ला अस्पतालको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चार महिनामा यस केन्द्रबाट ३१ जनाको उपचार लगायतको सेवा प्रदान गरिएको छ ।

गत वर्ष ७० जना हिंसा पीडितलाई केन्द्रबाट उपचार गरिएको थियो । भने अघिल्लो वर्ष ४८ जनालाई उपचार गरिएको मेडिकल अधिकृत डा. अविनास पोख्रेलले जानकारी दिनुभयो । एकद्वार संकट व्यवस्थापन केन्द्रबाट लैङ्गिक हिंसा पीडित एकल महिला, अपांगता भएका महिला ,बालबालिका ,ज्येष्ठ नागरिक महिलाले सेवा पाउने मेडिकल अधिकृत डा. पोख्रेलले बताउनुभयो ।

यसैगरी लैङ्गिक हिंसाको जोखिममा रहेका वेवारिसे एवं शारीरिक तथा मानसिक रूपले अशक्त महिला तथा बालबालिका, मानव बेचविखन तथा ओसारपसारमा परि हिंसामा परेका महिला तथा बालबालिकालाई समेत सेवा प्रदान गरिने उहाँले बताउनुभयो ।

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य उपचार, चिकित्साजन्य प्रमाण सङ्कलन, परिक्षण एवम् संरक्षण, मानसिक स्वास्थ्योपचार एवम् मनोसामाजिक परामर्श, सुरक्षा, आश्रय, कानुनी उपचार र जीविकोपार्जन तथा पुन स्थापना गराउन खोलेका सेवाहरू बहुपक्षीय संयोजनद्वारा निशुल्क प्रदान गरिने पोख्रेलले बताउनुभयो । केन्द्र स्थापना गरि सेवा प्रदान गर्दा लैङ्गिक हिंसा नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिइएको मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल रेकर्डर हेरम्ब आचार्यले बताउनुभयो ।

वि.स २०७५ सालमा सामुदायिक रुपमा सञ्चालित अस्पताललाई जिल्ला अस्पतालमा परिणत गरिएको थियो । नवलपुरको डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालको स्तरोन्नती भने नहुँदा सेवा दिन समस्या हुने गरेको अस्पतालका मेडिकल रेकर्डर आचार्यले बताउनुभयो । अस्पताल प्रशासनले बिरामीको चाँप बढेपछि हाल ७८ शय्या सञ्चालन गरेको छ । तर स्वीकृत दरबन्दी पन्ध्र शय्याको मात्र हुँदा जनशक्ति अभावको समस्या पेचिलो बनेको आचार्यले बताउनुभयो ।

जिल्ला अस्पतालमा हाल दैनिक सरदर ४ सय बिरामीले सेवा लिने गरेका छन् । मध्यविन्दु जिल्ला अस्पताललाई पचास शय्यामा स्तरोन्नति गर्ने पहल भइरहेको छ । अस्पतालमा हाल करिब विभिन्न क्षेत्रका गरि १ सय ५५ जना कर्मचारी छन् । ५० शय्यामा स्वीकृत भए जनशक्ति प्रदेशबाट थप हुने र सेवा दिन सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रमेश प्रसाद आचार्यले बताउनुभयो । हाल अस्पतालमा स्वीकृत दरबन्दी जम्मा ३१ जनाको मात्र रहेको उहाँले बताउनुभयो ।

Related Post

Leave A Comment