Latest
img

विद्यार्थीद्वारा उत्पादित तरकारी दिवाखाजामा प्रयोग

मीना कंडेल

कावासोती- पछिल्लो समय सामुदायिक विद्यालयले दिवाखाजामा विद्यालयकै करेसाबारीमा उत्पादित तरकारीको प्रयोग गर्ने गरेका छन् । पूर्वी नवलपरासीको कावासोती नगरभित्र रहेका अधिकांश विद्यालयमा आफ्नै करेसाबारीमा उत्पादन भएका अर्गानिक तरकारीको प्रयोग बढाएका छन् ।

कावासोती नगरपालिका–३ रहेको जनविकास विद्याश्रम आधारभूत विद्यालयमा अध्ययरत विद्यार्थी हरेक शुक्रबार र बिदाको दिन फुर्सदमा करेसाबारीमा काम गर्छन् ।  उमेरअनुसार बिद्यार्थीले आफूले सक्ने काम गर्छन् । विद्यालयको करेसाबारीमा विद्यार्थीले उत्पादन गरेको तरकारीलाई विद्यालयको दिवा खाजामा प्रयोग गरिने गरिएको बालक्लबका अध्यक्ष कक्षा ८ मा अध्ययरत छात्रा प्रिन्सु गुरुङले बताउनुभयो ।

विद्यालय परिसरमा रहेको बारीमा आलु, सेतो मुला, रातो मुला, रायो साग, पालुङ्गो साग, चाइनिज साग, धनिया खानका लागि तयार भइसकेको उहाँले बताउनुभयो । यस्तै, बन्दागोभी, सिमी, प्यास लगाउने तयारी गरिएको गुरुङको भनाइ छ ।

यसैगरी, विद्यालयका जुनियर रेडक्रसका अध्यक्ष कक्षा ७ मा अध्ययरत सन्दिप शर्माले विद्यालयमा पढाइसँगै अतिरिक्त क्रियाकलापमा करेसाबारीमा विभिन्न खेती लगाउन पाउँदा खुसी व्यक्त गर्नुभयो । सानै उमेरबाट किताबी ज्ञानमात्र भन्दा व्यावहारिक शिक्षाले छिटो सिकाइ हुने र आफ्नो जीवनमा परिवर्तन गर्न सहज हुने बताउनुभयो ।

कक्षा ४ देखि आठसम्मका विद्यार्थीले विद्यालय परिसरमा रहेको करेसाबारीमा विभिन्न प्रजातिका खेतीगरी दिवा खाजामा प्रयोग गर्दैआएको विद्यालयका प्रधानध्यापक प्रेम न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्ञानलाई सीपसँग जोड्ने र सीपलाई श्रमसँग जोड्नेगरी विद्यार्थी लागिपरेका छन् ।

करेसाबारी कार्यक्रमबाट उत्पादन भएको तरकारीले दिवाखाजालाई सहयोग गरेको र विद्यार्थीलाई अर्गानिक तरकारी खेतीको महत्त्व बुझाइएको न्यौपानेको भनाइ छ ।    कावासोती नगरपालिकाले करेसाबारी कार्यक्रम अन्तर्गत सुरुमा २५ हजार रकम बजेट विनियोजन गरेको र वार्षिक १० हजार रकम दिने गरेको कावासोती नगरपालिका शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।

दिवा खाजालाई अर्गानिक तरिकाले अगाडि बढाउने, विद्यालय परिसरलाई हराभरा बनाउने र विद्यालयमा खेर गएका स्रोत साधनलाई प्रयोग गर्ने मुख्य उद्देश्यसहित यो कार्यक्रमलाई लागु गरिएको पाण्डेले बताउनुभयो ।

कावासोतीमा ४० सामुदायिक विद्यालय रहेको भए पनि प्रस्तावना स्वीकृत नभएका अन्य विद्यालयले पनि आफ्नै व्यवस्थापनमा करेसाबारी बनाएर तरकारी उत्पादन सुरु गरेको उहाँको भनाइ छ ।

Related Post

Leave A Comment