Latest
img

नवलपुर–१ बाट चौथोपटक चुनावी प्रतिस्पर्धामा कोइराला

नवलपरासी ( बर्दघाट सुस्तापूर्व) । राज्य पुनः संरचनासँगै सिङ्गो नवलपरासी दुई जिल्लामा विभाजन भयो । जिल्ला टुक्रिएसँगै जिल्लाको पूर्वी भाग नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गण्डकी प्रदेशमा र पश्चिमी भाग नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) लुम्बिनी प्रदेशमा राखियो ।पुनः संरचनासँगै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा सम्पूर्ण संरचना नयाँ निर्माण भए । चार गाउँपालिका र चार नगरपालिका गरी आठ स्थानीय तह रहेको जिल्लालाई दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा विभाजन गरियो । नवलपुरको बौदीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका, गैँडाकोट नगरपालिका, देवचुली नगरपालिकाका सबै क्षेत्र र कावासोती नगरपालिकाका ११ वटा वडा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा समेटिएका छन् ।

विसं २०४८ देखि नेपाली कांग्रेसले जित्दै आएको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को क्षेत्र नम्बर १ बाट यसपटक पनि महामानव वीपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइराला चौथो पटक निर्वाचनमा होमिनुभएको छ । कोइराला यस क्षेत्रबाट संविधानसभा निर्वाचन २०६४, २०७० र प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा भारी मतका साथ विजयी हुनुभएको थियो ।

चौथोपटक निर्वाचन जित्ने कसरतका साथ उम्मेदवार हुनुभएका डा कोइरालाको प्रतिस्पर्धीका रुपमा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिनुभएको छ । नवलपुर क्षेत्र नम्बर १ कांग्रेसको सुरक्षित निर्वाचन क्षेत्र र राष्ट्रिय राजनीतिमा प्रभाव पार्नसक्ने व्यक्ति भएकाले कोइरालाको विकल्प नभएको कांग्रेसको दाबी छ तर, देशव्यापी रुपमा नयाँ नेतृत्वको खोजी भइरहेको बेला र स्थानीय तह निर्वाचन २०७९ मा यस क्षेत्रमा पर्ने अधिकांश पालिकामा एमालेका उम्मेदवार विजयी भएकाले पौडेल विजयी हुने एमालेको दाबी छ ।

विसं २०६४ मा डा कोइरालाले १७ हजार ४३० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी तत्कालीन माओवादीका ठाकुरप्रसाद चापागाईं रहनुभएको थियो । एमाले तेस्रो स्थानमा रहेको थियो । विसं २०७० को निर्वाचनमा कोइराला १८ हजार दुई सय २८ मत ल्याएर दोस्रोपटक विजयी बन्नुभयो । कोइराला विजयी बन्दा एमाले उम्मेदवार दीपक अधिकारी क्षेत्रीले १२ हजार एक सय १० र माओवादीका धनप्रसाद सापकोटाले चार हजार तीन सय १७ मत प्राप्त गरेका थिए ।

त्यस्तै २०७४ सालको निर्वाचनमा कोइराला ३६ हजार छ सय ५२ मतसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी तत्कालीन बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार तीन सय आठ मत प्राप्त गर्नुभएको थियो । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतलाई हेर्दा कांग्रेसलाई केही सहज देखिन्छ ।

कांग्रेस महामन्त्रीसमेत रहिसक्नुभएका कोइराला १५ वर्षसम्म संसद्मा रहँदा आफ्नो क्षेत्रमा टुक्रे र वितरणमुखी योजनाका कामबाहेक विकासका माध्यमबाट परिवर्तन गर्न नसकेको आरोप खेप्दै आउनुभएको छ । अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनको दबदबा रहेका बेला जित निकाल्नुभएका डा कोइराला यसपटक गठबन्धन आफ्नो पक्षमा रहेकाले जित सहज भएको बताउनुहुन्छ । गठबन्धनले कोइरालालाई सहज बाटो बनाएको कांग्रेसका तर्फबाट गैँडाकोट नगरप्रमुखमा निर्वाचित मदनभक्त अधिकारी बताउनुहुन्छ ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नवलपरासी–३ बाट संविधानसभा सदस्य बन्नुभएका एमाले उम्मेदवार कृष्णप्रसाद पौडेलले त्यो निर्वाचनमा कांग्रेस उम्मेदवार हालका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई पराजित गर्नुभएको थियो । एमालेका पौडेल १४ हजार आठ सय चार मत ल्याएर विजयी हुँदा कांग्रेसका पोखरेलले १४ हजार चार सय ७९ मत प्राप्त गर्नुभएको थियो । सो क्षेत्र अहिले नवलपरासी पूर्वको क्षेत्र नम्बर २ मा पर्छ ।

विसं २०४८ यता कांग्रेसले जित्दै आएको नवलपुरको यो क्षेत्र विकासमा पछि परेकाले यो पटक एमालेको जित निश्चित भएको एमालेका तर्फबाट देवचुली नगरपालिका प्रमुख बन्नुभएका हरिप्रसाद न्यौपाने बताउनुहुन्छ । नवलपुरमा एमाले विभाजनको कम असर, बलियो सङ्गठन तथा लोकप्रिय र चिरपरिचित उम्मेदवार भएकाले निर्वाचनको परिणाम आफ्नो पक्षमा आउने एमालेको दाबी छ ।

नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा बौदीकालीका छ, बुलिङटारका छ, गैँडाकोटका १८, देवचुलीका १७ र कावासोतीका ११ गरी ५८ वडा रहेका छन् । गत स्थानीय तह निर्वाचनमा यस क्षेत्रको गैँडाकोट नगरपालिकामा प्रमुख र उपप्रमुख तथा बुलिङटार गाउँपालिका उपाध्यक्षबाहेक सबै पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष एमालेले जितेको छ । अन्ठाउन्न मध्ये ३० वडामा एमालेले वडाध्यक्ष जितेको छ भने कांग्रेसले २७ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेको छ ।

नवलपुर क्षेत्र नम्बर १ मा पर्ने ५८ वडामा एमालेका वडाध्यक्षले ४४ हजार सात सय ७७ मत प्राप्त गर्दा कांग्रेसका वडाध्यक्षले ४४ हजार एक सय ८८ र माओवादी केन्द्रका वडाध्यक्षले एक हजार नौ सय आठ मत प्राप्त गरेका छन् । माओवादी केन्द्र र कांग्रेस सत्ता गठबन्धनमा रहेका कारण पनि माओवादीको वडाध्यक्षको मत कांग्रेसका उम्मेदवार कोइरालालाई आउने कांग्रेस नेताको दाबी छ ।

त्यसैगरी यस क्षेत्रमा एमालेका पालिका प्रमुख तथा अध्यक्षले प्राप्त गरेको मत ३४ हजार चार सय ४७ ९कावासोती नगरपालिकाको समेत जोड्दा ५३ हजार ५५० रहेको छ । त्यस्तै कांग्रेसका पालिका प्रमुख तथा अध्यक्षले प्राप्त गरेको मत ३५ हजार एक सय छ ९कावासोती नगरपालिकाको समेत जोड्दा ५३ हजार चार सय १०० रहेको छ ।

नवलपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३१ हजार एक सय ८१ मतदाता रहेका छन् । यहाँ ६२ हजार पाँच सय ९६ पुरुष, ६८ हजार पाँच सय ८४ महिला र तेस्रो लिङ्गी एक मतदाताले ५७ मतदान स्थलका एक सय ५३ मतदान केन्द्रबाट मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्मा भुसालले जानकारी दिनुभयो ।

नवलपुर–१ मा प्रतिनिधिसभातर्फ कोइराला र पौडेलसहित १५ जनाले उम्मेदवारी मनोनयन गराएका छन् । पाँच स्वतन्त्रका साथै जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाली पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपालका लागि नेपाली पार्टी, मङ्गोल नेशनल अर्गनाइजेसन, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसमेत चुनावी मैदानमा छन् । मुख्यतया कोइराला र पौडेलबीच नै चुनावी प्रतिस्पर्धा हुने बताइएको छ ।  रासस

Related Post

Leave A Comment