Latest
img

हस्तकलाका सामग्रीबाट आयआर्जन गर्दै नवलपुरका महिला

त्रिवेणी । वनमा पाइने थाकल, काँस, पटेरलगायतका कच्चापदार्थबाट हस्तकालाका सामग्री निर्माण गरी यहाँका महिलाले आम्दानी गर्ने गरेका छन् ।नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरका महिला वनमा आधारित कच्चा पदार्थबाट हस्तकालका सामग्री निर्माण गरी आयआर्जन गर्न थालेका हुन् । वनमा पाइने थाकल, काँस, पटेर, सालको पातलगायत वन पैदावरबाट विभिन्न हस्तकला सामग्री निर्माण गरी यहाँका महिलाले आम्दानी गरिरहेका छन् ।

देवचुली नगरपालिकाको नमूना सामुदायिक वनका महिलाले थाकल उद्यमी समूह निर्माण गरी थाकलबाट झोला तयार पार्ने गरेका छन् । देवचुलीकै अमर ज्योति सामुदायिक वनका महिलाले दुनाटपरी समूह र अदुवा बेसार समूह निर्माण गरी आम्दानी गर्दै आएका छन् ।

वनमा पाइने झारपातबाट हस्तकला निर्माणको काम गरिएको र बजारमा माग पनि राम्रो रहँदा काम गर्न हौसला मिलेको थाकल उद्यमी समूह देवचुलीका अध्यक्ष कोपिला रायमाझीले बताइन् ।

थाकलबाट झोला बनाउने तालिम लिएपछि अब समूह नै मिलेर अन्य हस्तकलाका सामग्री निर्माण गर्ने योजना रहेको उनको भनाइ छ ।

“अहिले थाकलबाट झोला बनाएका छौंँ, अब अन्य हस्तकला निर्माणको तालिम लिएर, विभिन्न थरिका हस्तकलाका सामग्री निर्माण गर्ने योजना रहेको छ”, अध्यक्ष रायमाझीले भने, “हामीकहाँ आवश्यक कच्चापदार्थको कमी छैन, लघु उद्यमकै रुपमा बढाउने तयारी छ ।”

जिल्लाको कावासोती–१४ मा रहेको थारु हस्तकाला प्रगति समूहले विभिन्न हस्तकलाका सामग्री उत्पादन गर्दै आएको छ । चार वर्ष पहिला स्थापना गरिएको यस समूहले वनबाट थाकल, काँस लगायतका वन पैदावर, घोलमा पाइने पटेर, मकैको खोस्टा लगायतबाट कलमदानी, चकटी, टेबुल म्याट, सुकुल, मुढा, टोपी, किस्ती, झोलालगायतका सामग्री उत्पादन गरिरहेको समूहका अध्यक्ष तुल्सीमाया महतोले बताइन् ।

आफूहरुले उत्पादन गरेका सामग्री चितवन, पोखरा लगायतका बजारमा खपत हुने गरेको उनले बताइन् ।

वर्षाको समय र धानखेती भित्र्याउने समयमा हस्तकलाको काम गर्न नसकिने र खेतीको कामपश्चात आफूहरुले घरको काम सँगसँगै हस्तकला सामग्री निर्माण गरी आम्दानी गर्दै आएको समूहका सचिव सीता महतोले बताइन् । मागअनुसार समूहमा भएका महिलाले सामग्री निर्माण गर्ने गरेको उनको भनाइ छ ।

समूहमा आवद्ध महिलाले उत्पादन गरेका सामग्री बिक्रीपछि केही रकम समूहमा बचत गरी सम्बन्धित सदस्यलाई सामग्री अनुसारको बाँकी रकम दिने गरिएको उनले बताइन् ।

हस्तकलाका सामग्री निर्माणपछि बिक्रीबाट प्राप्त रकमले महिलाको आर्थिक अवस्था सुधारका लागि सहायोग पुगेको उनले बताइन् ।

“हस्तकलाका सामग्रीको माग रामै्र छ, फुर्सदको समयमा निर्माण गरिएका सामग्रीले समूहमा आवद्ध महिलाको आर्थिक विकासमा टेवा पुगेको छ”, सचिव महतोले भनिन् ।

गैँडाकोट–३ भुजेल गाउँकी मन्जुकुमारी भुजेलले आफूहरुले बाँसबाट बन्ने हस्तकलाको तालिमबाट राम्रो कमाई गर्ने सीप प्राप्त गरेकोमा खुसी लागेको बताइन् ।

गैँडाकोट नगरपालिकाको पहाडी भागमा रहेको सो गाउँमा परम्परागत बाँसका सामग्री बनाउने उनीहरु अहिले समूह निर्माण गरी मुढा बनाउन व्यस्त छन् । मागअनुसार मुढा र बाँसको चोयाबाट टोपी निर्माण गर्ने गरेको उनले बताइन् ।

वनको पातको सही व्यवस्थापन नहुँदा गर्मीको समयमा वनमा डढेलो लाग्ने गरेकोमा अहिले महिलाले पात सङ्कलन गरी दुनाटपरी बनाउन थालेपछि डढेलोको समस्या न्यूनीकरण हुने अमर ज्योति सामुदायिक वनका अध्यक्ष टुकलाल रुचालले बताए ।

वनको पातबाट कमाइ हुन थालेपछि र बजारमा पातबाट बनेको दुनाटपरीको माग बढी हुँदा महिलामा कमाइ गर्ने प्रतिस्पर्धा नै चलेको उनले बताए । प्रतिदिन आठ हजार चार सय दुनाटपरी उत्पादन गर्न सक्ने क्षमताको मेसिनबाट दुनाटपरी निर्माण गरिएको र सो सबैको व्यवस्थापन महिला समूहले नै गर्ने गरेको उनले बताए।

“एकल महिला, दलित, अपाङ्गता भएका तथा कम आयआर्जन भएका महिलालाई प्राथमिकता दिई तालिम प्रदान गरेका छौँ’, रुचालले भने, “यसले थप यो वर्गको आयआर्जन वृद्धि हुने विश्वास छ ।”

फरेष्ट एक्सन नेपालले वन उद्यमीबाट महिलाको आर्थिक सशक्तिकरण परियोजना सञ्चालन गरी विभिन्न सीप प्रदान गर्दै आएको छ । यसले वनमा आधारित आयआर्जनका क्रियाकलापमा महिलाको सहभागिता बढ्दो रहेको छ ।

“खासगरी वनमा यस्तै खेर जाने कच्चापदार्थलाई सदुपयोग गरी आयआर्जनका काममा जोड्न हामीले लगानी गरेका छौँ”, कार्यक्रम संयोजक कमल भण्डारीले भने ।

नवलपुरको देवचुलीमा रहेको नमुना सामुदायिक वन र अमर ज्योति सामुदायिक वन, गैंँडाकोट नगरपालिकामा रहेको सुन्दरी सामुदायिक वन, शङ्खदेवी सामुदायिक वन र देउराली सामुदायिक वनका महिलालाई विभिन्न कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

संस्थाबाट महिलाका लागि आवश्यक पर्ने तालिम, कच्चापदार्थ, मेसिन उपलब्ध गराउने र महिलाबाट निर्मित हस्तकला तथा सामग्रीको बजारीकरणका लागि सहयोग गर्ने गरिएको भण्डारीले बताए ।

विभिन्न सामुदायिक वनमा आवद्ध महिलाले थाकलबाट झोलो, हर्रो–बर्रोबाट त्रिफलो, बाँसबाट विभिन्न सामग्री, अम्रिसोबाट कुचो, बेसार तथा अदुवाको सुठो तयार गर्ने, दुनाटपरी साथै विभिन्न हस्तकलाका सामग्री निर्माण गर्ने गरेको उनले बताए । रासस

Related Post

Leave A Comment