Latest
img

नारायणघाट-बुटवल सडक विस्तारसँगै हराए यात्रु प्रतिक्षालय र सुस्ताउने चौतारी

पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक विस्तारको कामसँगै सडक छेउमा रहेका यात्रु प्रतिक्षालय र सुस्ताउने चौतारी मासिएका छन् । नारायणघाट बुटवल सडक विस्तार गर्ने क्रममा बाटोको क्षेत्रभित्र पर्ने प्रायः चौतारा र यात्रु प्रतिक्षालय मासिएपछि सवारीसाधन कुर्न बस्ने यात्रुलाई असहज भएको छ । गाउँ समाजमा भएका समस्या र विवाद मिलानका लागि भेला हुने थलोका रूपमा समेत चौतारी नहँुदा पाका पुस्ताले चिन्ता व्यक्त गरेका छन् ।

केही वर्षअघिसम्म थकाइ मार्ने र चौतारीमा बसेर गफगाफ गर्ने मानिस ठाउँ–ठाउँका चौतारीमा प्रशस्त देखिन्थे । तर, अहिले वर–पिपल, स्वामीका बोटसहितका चौतारा देखिन छाडेका देवचुली–१५ का बलराम पोख्रेलले बताउनुभयो । “कुनै बेला धार्मिक आस्थाका कारण समेत रोपेर हुर्काएका वर पिपल चौतारी लामो बाटो हिँडेर आएका बटुवालाई थकाइ मार्न सजिलो मात्र थिएन, गाउँ समाजमा भएका समस्या र विवाद मिलाउन भेला हुने थलोका रूपमा चौतारीको प्रयोग गरिन्थ्यो, तर बाटो विस्तारसँगै सबै मासिएर गए”, पोख्रेलले दुःखेसो गर्नुभयो ।

पोख्रेलमात्रै होइन, विगत तीन वर्ष अगाडिसम्म फुर्सदको समयमा आफ्ना उमेरका साथीसँग कावासोती–११ को लोकाहामा रहेको यात्रु प्रतिक्षालयमा भलाकुसारी गरेर दिन कटाउँदै आउनुभएका डबलबहादुर कुँवरको पनि त्यस्तै चिन्ता छ । चौतारी मासिदा अबका पुस्ताले चौतारी नै नदेख्ने हुन् कि भन्ने पिरले सताएको उहाँको भनाइ छ ।

पूर्व–पश्चिम राजमार्गको गैँडाकोटबाट दाउन्नेसम्म ६४.५ किलोमिटर, दाउन्नेबाट बुटवल चौराहासम्मको ४८.५ सहित एक सय १३ किलोमिटर सडकको क्षेत्रभित्र परेका चौतारी र यात्रु प्रतिक्षालय हटाइएको हो ।

सडक विस्तारका कारण चौतारी धमाधम मासिदै गएको प्रति चिन्ता व्यक्त गर्दै कावासोती–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले चौतारी र प्रतिक्षालयलाई पायक पर्ने स्थानमा पुनःनिर्माण गर्नुपर्ने बताउनुभयो । विकासको नाममा हुने यस प्रकारको बिनासको तत्काल विकल्प खोजिनुपर्ने र चौतारीलाई पुनः अन्य सार्वजनिक महत्वका स्थानमा स्थानान्तरणसँगै संरक्षण गर्नुपर्ने अधिकारीले बताउनुभयो । हाम्रा पुर्खाले बाटो हिँड्दा थकान मेटाउने र गाउँबेँसी गर्दा भारी बिसाउनका लागि पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वासले चौतारी बनाउने गरिन्थ्यो । हाल त्यस्तो कार्यप्रति चासो कम भएको छ । चौतारी लोप हुन लागेकाले संरक्षणका लागि राज्यले नै विशेष कार्यक्रम सुरु गर्नुपर्ने वडाध्यक्ष अधिकारी बताउनुहुन्छ ।

बढ्दो मानव बस्ती र फैलिँदो सडकको चपेटामा परेका छन् यस्ता चौतारीहरू । ग्रामीण क्षेत्रको मौलिकता बचाउने काममा लाग्नुपर्ने स्थानीय तहको प्राथमिकतामा यस्ता विषय भने पर्न सकेका छैनन् । विकास भनेको विनास होइन । आवश्यकतानुसार मौलिकता जोगाउँदै गरिने विकासले मात्रै सही प्रतिफल दिन्छ । ग्रामीण जीवनका चिनारीको संरक्षण गरेर मात्रै विकासको गति बढाउनुपर्ने स्थानीयको भनाइ छ ।रासस

Related Post

Leave A Comment