Latest
img

नवलपरासी पूर्वमा २८ जना कुष्ठरोगी उपचाररत

नवलपरासी(बर्दघाट सुस्तापूर्व)- नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको पुस मसान्त सम्म नौ जना नयाँ कुष्ठरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउन देखि पुष सम्म जिल्लामा नौ जना नयाँ कुष्ठरोगी पहिचान भएको जनाइएको छ । जिल्लामा अहिले नयाँ र पुराना गरि २८ जना कुष्ठरोगीले औषधी सेवन गरिरहेका छन् । औषधी सेवन गरिरहेका कुष्ठरोगी मध्य १२ जना पुरुष र १६ जना महिला रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले बताउनु भयो ।
”अहिले गैँडाकोट नगरपालिकामा सबैभन्दा धेरै १२ जना कुष्टरोगि रहनु भएको छ” प्रमुख चापागाईले भन्नु भयो“ देवचुली नगरपालिकामा छ जना, कावासोती नगरपालिकामा पाँच जना, विनयी त्रिवेणी गाउँपालिकामा तीन जना, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा एक÷एक जना कुष्ठरोगी औषधी सेवन गरिरहनु भएको छ ।” नयाँ फेला परेका कुष्ठरोगी मध्य पुरुष सात जना र महिला एक जना रहेको जनाइएको छ ।

“जिल्लाको मध्यविन्दु नगरपालिकामा एक जना पुरुष, गैँडाकोट नगरपालिकामा एक जना पुरुष एक जना महिला , हुप्सेकोट गाउँपालिकामा एक जना पुरुष र कावासोती नगरपालिकामा एक जना पुरुष नयाँ कुष्ठरोगी भेटिएका छन् ।” उहाँले भन्नु भयो “ नयाँ फेला परेका कुष्ठरोगी ले नियमित औषधी सेवन गरिरहेका छन् ।” नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्ष २०७८÷०७९ को असार सम्म २३ जना कुष्ठरोगी फेला परेका थिए । त्यस्तै आर्थिक वर्ष २०७७÷०७८ को असार सम्म जम्मा संक्रमीतको संख्या ३५ जना रहेको थिए ।

“जिल्लामा प्रत्येक वर्ष कुष्ठरोगीको संख्या घट्दै गइरेको छ” प्रमुख चापागाईले भन्नु भयो “समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराइएपछि रोगीको संख्या क्रमिकरूपमा घट्दै गइरहेको छ ।”
कुष्ठरोग माइक्रोब्याक्टेरियम लेप्री नामक ब्याक्टेरियाद्वारा सर्ने एक प्रकारको ब्याक्टेरियल इन्फेक्सन हो । यो लामो समयसम्म रहने र लगातार बढ्ने खालको सङ्क्रमण हो । अन्य सरुवा रोगको तुलनामा कम सर्ने रोग भए पनि बिरामीले हाच्छँयु गर्दा रोग सर्ने सम्भावना रहन्छ । उठबस गर्दा, हात मिलाउँदा यो रोग सर्दैन् । मुख्यरूपमा नशा, हातखुट्टा, नाकको भाग र श्वास लिने तन्त्रलाई प्रभावित गर्ने गरेको भन्दै प्रमुख चापागाईले भन्नु भयो “कुष्ठरोगले नशालाई क्षतिग्रस्त गर्नुका साथै छालामा घाउ पार्दै मांशपेशीलाई कमजोर पार्छ ।”

छालामा रातो फुस्रो दाग देखिने, छाला नदुख्ने, गिर्खाहरु आउने, अनुहारको छाला रातो र चम्किलो हुने, कानको लोती बाक्लो हुने, आँखा झिम्काउन नसकिने, शरीरको कुनै भागमा छोएको थाहा नहुने, हातखुट्टा लत्रिने जस्ता कुष्ठरोगका लक्षण हुन । नेपाल सरकारले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत निःशुल्करूपमा कुष्ठरोगको औषधि उपलब्ध गराउने गरेको छ । प्रत्यक वर्ष जनवरी २९ तारीकका दिन मनाइदै आइएको विश्व कुष्ठरोग दिवस आज विभिन्न जनचेतना मुलक कार्यक्रम गरि विश्वभर मनाईदै छ । ७० औँ विश्व कुष्ठरोग दिवसको नारा ‘कुष्ठरोग अन्त्यका लागि आजैवाट पहल गरौं’ तय गरिएको छ ।

Related Post

Leave A Comment