Latest
img

कावासोती नगरपालिकामा जग्गाको नापी सुरु

कावासोती- पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा जग्गाको नापी सुरु गरिएको छ । भूमिहीन ,सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पालिका भित्र नापी सुरु गरिएको हो । कावासोती नगरपालिका वडा नम्बर ४, बाट नापी सुरु गरिएको हो ।

कावासोती नगरपालिका वडा नं ४ सिसौघारीबाट जग्गा नापजाँच सुरु गरिएको र वडा भित्रका भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थीत बसोबासीहरुलाई छिटटै पूर्जा दिने कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले बताउनु भयो । आफुले जोतभोग गर्दै आएको जग्गाको मालिक बनाउने काममा सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो ।

सुकुम्बासी ,भूमिहीन ,अव्यवस्थित बसोबासीको समस्या समाधान एक पटकका लागि गर्ने योजना छ, यसैलाई आधारमानी सबै वडामा जतिसक्दो चाडैं नापीको काम सक्दै पुर्जा वितरणका लागि पालिकाले पूर्ण रुपमा सहजिकरण र आफ्नो भूमिका अनुसारको काम गर्ने नगर प्रमुख भुसालले बताउनुभयो । वडा नं. ४ बाट शुरु भएको जग्गानापजाँच कार्य क्रमशः अन्य वडाहरुमा समेत शुरु हुने उहाँले बताउनुभयो ।

नापी कार्यालयका निमित्त कार्यालय प्रमुख धर्मेन्द्र कुमार श्रेष्ठले जिल्लामा जग्गाको धेरैनै समस्या रहेको बताउनुभयो । नापीको काम पछि समाधान गरि पुर्जा वितरणको लागि थप कामहरु हुने उहाँले बताउनुभयो । निश्चित मापदण्ड र कार्यविधि अनुसार पुर्जा बितरणको काम हुने उहाँले बताउनुभयो ।

जग्गा नापजाँचको क्रममा कुनैपनि शुल्क कुनै निकाय वा व्यक्तिलाई बुझाउनु नपर्ने भन्दै त्यस्ता चलखेलहरु भए नगरपालिकालाई जानकारी गराउन समेत आयोग जिल्ला सदस्य सुस्मा अर्यालले अनुरोध गर्नुभयो । भूमिहिनहरुको हकमा कुनैपनि शुल्क बिना र अव्यवस्थितहरुको हकमा राज्यले तोकेको राजश्व जग्गाधनि पुर्जा प्राप्त गर्ने समयमा मात्रै बुझाउनु पर्ने भन्दै अन्य कुनै पनि शुल्कहरु संकलन यो बीचमा नुहने बताउनुभयो ।

कावासोती ४ का वडा अध्यक्ष नारायण प्रसाद लोहनीले केन्द्रीय सत्तासमिकरणमा भइरहने फेरबदल र राजनितिक दाउँपेचको कारण लामो समयदेखि भूमिहिन सुकुम्बासीहरुको समस्या समाधान हुन नसकेको भन्दै उहाँले सबै राजनितिक दलहरुको साँझा मुद्दा र सरोकार रहेको सुकुम्बासी समस्या समाधानमा सबै दल, स्थानीय समुदायबीच समान बुझाईको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

कावासोती नगरपालिका भित्र सात हजार ५६७ जनाले आवेदन दिएकाछन् । नगरपालिकामा ७०७ भुमिहिन दलित , एक हजार २५१ भूमिहीन सुकुम्बासी र पाँच हजार ६०९ जनाले अव्यवस्थित बसोबासीले आवेदन दिएका छन् । जसमध्ये सबै कम्युटर इन्ट्रीको काम सकिएको छ । पालिका भित्र यश अघि दुई हजार ८६ कित्ताको नापी समेत सकिएको छ । कावासोती नगरपालिका वडा नम्बर ३,५,१०,१५ र १७ मा यस अघि नापी गरिएको छ । कावासोती वडा नम्बर १ बाट समेत आजबाट नापी सुरु गरिदै छ ।

Related Post

Leave A Comment