पाल्पामा सुरक्षित गर्भपतन ः कम उमेरमा गर्भपतन सेवा लिनेको संख्या बढ्दै - Nepal Frontline
Latest
img

पाल्पामा सुरक्षित गर्भपतन ः कम उमेरमा गर्भपतन सेवा लिनेको संख्या बढ्दै

पाल्पा- पाल्पामा कम उमेरमा गर्भपतन सेवा लिनेको संख्यामा वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । बालविवाह, जनचेतनाको अभावका कारण सानै उमेरमा गर्भपतन गराउनेको संख्या बढेको हो । गत आर्थिक वर्ष २०७७÷७८ मा जिल्लाका दश स्थानीय तहमा एक हजार ३ सय २३ जनाले गर्भपतन सेवा लिएका थिए । जसमा २० वर्षमूनीका ९५ जना अर्थात ७ प्रतिशत रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिए । यस्तै आर्थिक वर्ष २०७८÷७९ मा गर्भपतन सेवा लिनेको संख्या १ हजार ४ सय ४ रहेको थियो ।

जसमा २० वर्षमूनीका एक सय २३ जना अर्थात ९ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा जिल्लाभरका एक हजार ८१ जनाले गर्भपतन सेवा लिएका छन । जसमा २० वर्षमूनीका ८९ अर्थात ८ प्रतिशत रहेको तथ्यांक स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको छ । यो सूचिकृत स्वास्थ्य संस्थाबाट सेवा लिनेको संख्या मात्र हो । यसमा लुकिछिपी र अवैध रुपमा गरिने गर्भपतनको रेकर्ड समावेश छैन ।

यस आर्थिक वर्षमा सबैभन्दा धेरै तानसेन नगरपालिका भित्रका ६ सय १३ जनाले गर्भपतन सेवा लिएका छन । जसमा २० वर्षमूनीका ४३ जना रहेका छन । यस्तै रामपुर नगरपालिकामा एक सय ३६ जनाले सेवा लिएकोमा १० जना २० वर्षमूनीका रहेका छन । सबैभन्दा कम निस्दी गाउँपालिकाका २६ जनाले गर्भपतन गराएका छन । जसमा २० वर्षमूनीका १ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बढ्दो प्रविधिको गलत प्रयोग तथा कम उमेरमै हुने यौनसम्पर्कका कारणले पनि सानै उमेरमा गर्भपतन गर्नेको संख्यामा वृद्धि भएको नेपाल परिवार नियोजन संघ पाल्पाका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले बताए ।

सामान्य रुपमा जिल्लाका स्वास्थ्य संस्थाहरुमा गर्भ परीक्षण गराएका महिलाहरुको उमेर समूहको तथ्यांकलाई हेर्दा पनि छिटो विवाह गर्नेको संख्या बढ्दो रहेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए । प्रजनन स्वास्थ्यको विषयमा किशोर किशोरीका लागि सचेतना कार्यक्रम सञ्चालन, विद्यालय तहमा स्वास्थ्य शिक्षा समावेश गर्दा कम उमेरमा हुने गर्भपतनको समस्या न्यूनीकरण गर्न सकिने स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. गिरीको भनाइ छ । उनले यसका साथै परिवार नियोजनका साधानहरुको सही प्रयोग बढाउने र परामर्श सेवामा पहुँच वृद्धि गर्नसकेको खण्डमा यो समस्याको रोकथाम गर्न सकिने विश्वास व्यक्त गरे ।

Related Post

Leave A Comment