आत्महत्याको घटना गम्भीर समस्याको रूपमा देखापर्दै - Nepal Frontline
Latest
img

आत्महत्याको घटना गम्भीर समस्याको रूपमा देखापर्दै

मीना कंडेल
नवलपुर- समाज आधुनिकीकरण तर्फ अघि बढ्दै गर्दा आत्महत्याको घटना बढ्नु आफैँमा चिन्ताको विषय भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले पछिल्लो समयमा शिक्षाको विकास हुँदै गए पनि शैक्षिक तथा मनोवैज्ञानिक चेतनाको कमीले आत्महत्याको दर बढेको बताउनुभयो ।

प्रहरी प्रमुख तिवारीले भन्नुभयो, “मान्छे शिक्षित छ तर मनोवैज्ञानिक रूपमा कमजोर छ, आत्मबल कमजोर छ यसले उसलाई आत्महत्यातर्फ डो¥याएको छ, यसका लागि विद्यालय तहदेखिनै मनोपरामर्श र मनोवैज्ञानिक शिक्षा दिन जरुरी छ ।”

मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले आत्महत्या दुरुत्साहनको कानुनले आत्महत्या न्यूनीकरण गर्न नसक्ने बताउनुहुँदै समाजमा सामाजिक मनोपरामर्श र सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘दैनिक जसो आत्महत्याका घटना आइरहेका छन् । यसतर्फ सबै पक्षको ध्यानाकर्षण हुनु जरुरी छ ।’’

पूर्वी नवलपरासीमा आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी वेद बहादुर पौडेलले जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीको तथ्याङ्क अनुसार जिल्ला प्रहरी कार्यालय नवलपुरको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष ०७९/८० जिल्लामा १०९ जनाले आत्महत्या गरेका हुन् । त्यसमध्ये सबैभन्दा धेरै झुण्डिएर १०२, विष खाएर ६ जना, पानीमा हाम फालेर एक जनाको ज्यान गएको जानकारी दिनुभयो ।

नवलपुर प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लामा आत्महत्या गम्भीर समस्याको रूपमा देखा पर्न थालेको छ । प्रहरीका अनुसार आव २०७७/७८ मा ९९ जना, आव ७८/७९ मा १२५ र आव ७९/८० मा १०९ जनाले आत्महत्या गरेका हनु । जिल्लामा गत आव मा १६ वर्ष मुनिका पाँच जना, १६ देखि २५ वर्षसम्मका २२ जना, २६ देखि ३५ वर्षसम्मका १४ जना, ३६ देखि ४५ वर्षसम्मका २० जना, ४६ देखि ५५ वर्षसम्मका २७ जना र ५५ वर्षमाथिका २१ जनाले आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्नुको पछाडि पारिवारिक बेमेल, सम्बन्धको अन्त्य, गरिबी, मानसिक रूपमा निकै कमजोर, मनोरोग, अत्यधिक मादक पदार्थ तथा लागू औषधको सेवन जस्ता कारणहरू रहेको अनुसन्धानले देखाएको प्रहरी प्रमुख तिवारीले बताउनु भयो  ।

Related Post

Leave A Comment