देशैभर अति भारी वर्षा सतर्क रहन आग्रह - Nepal Frontline
Latest
img

देशैभर अति भारी वर्षा सतर्क रहन आग्रह

काठमाडौँ- देशका अधिकांश भू–भागमा मङ्गलवार बिहानै देखि भारी र अति भारी वर्षा सुरु भएको छ । बिहानै देखि देशभर सामान्यदेखि पूर्ण बदली रहेकाले बाढी, पहिरो जान सक्ने भएकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

बिहानै विज्ञप्ति जारी गर्दै विभागले काठमाडौँ उपत्यका लगायतका कोशी, मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा भारी वर्षा हुने जनाएको छ । विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोसी, मधेस, वाग्मती गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका  केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यता मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै तथा कोसी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । मधेस र वाग्मती प्रदेशका एक दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

धेरै भारी वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयबाट क्षति हुनसक्ने विभाग जनाएको हो ।  काठमाडौँमा गएरातिदेखि नै वर्षा भइरहेको छ । यहाँका बागमती लगायतका सहायक नदिहरुमा पानीको बहाव उच्च हुँदा उपत्यकावासीलाई आवागमनमा समस्या भएको छ ।

नेपालमा अहिले मनसुनी वायुको साथै बङ्गलादेशको उत्तरी भू–भागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर रहेको छ ।

Related Post

Leave A Comment