हुप्सेकोटमा दशैँको खसीबोका बजार - Nepal Frontline
Latest
img

हुप्सेकोटमा दशैँको खसीबोका बजार

नवलपुर- नेपालीहरूको महान चाड दशैँ आँगनमै आइपुगेको छ । बजारमा किनमेलको चहलपहल बढेको छ । यस्तै किनमेलको चहल पहल नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले चलाएको खसीबोका सङ्कलन तथा विक्री केन्द्रमा पनि देखिएको छ ।
यहाँ हुप्सेकोट गाउँपालिका भित्रका किसानहरूले उत्पादन गरेको खसीबोका सङ्कलन गरी विक्रीका लागि राखिने गरिन्छ । दशैँलाई लक्षित गरी घटस्थापना पछि विक्री सुरु गरिएकोमा अहिले सम्म तीन सय खसीबोका विक्री भई सकेको लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाको व्यवस्थापक शुसिला परियारले बताउनु भयो ।

“असोज २९ गते देखि खसीबोका सङ्कलन र विक्री सुरु गरेका हौँ, अहिले सम्म तीन सय भन्दा बढि विक्री गरेका छौ”, उहाँले भन्नु भयो, “यो दशैँमा एक हजार बढि खसीबोका विक्री हुने अनुमान छ ।” लेकबेसी सामाजिक उद्यमी महिला सहकारी संस्था मार्फत बाह्रै महिना खसीबोका सङ्कलन र विक्री गरिने भएपनि चाडपर्वलाई लक्षित गरी किसानहरूले बढी खसी बोका ल्याउने र चाडपर्वमै बढी विक्री हुने गरेको व्यवस्थापक परियारले बताउनु भयो । किसानले पालेको खसीबोका सहकारीले सङ्कलन गरि ज्युँदो प्रतिकिलो पाँच सय ६० रुपैयाँका दरले बेच्ने गरिएको छ । किसानहरूले ल्याएको खसीबोका सहकारी मार्फत विक्री गर्दा किसानहरू ठगिनु नपरेको स्थानीय सर्मिला विश्वकर्माले बताउनु भयो ।

“पहिले सहकारी नहुँदा सिधै व्यापारीहरूलाई बेच्दा उनिहरूको मूल्यमा बेच्नु पर्दथियो, उनीहरूले भनेको दरमा विक्री गर्दा खासै नाफा हुन्थेन”, उहाँले भन्नु भयो,“अहिले ठगिने समस्या हटेको छ, जति उत्पादन गर्न सकेपनि विक्री भएको छ ।”
हुप्सेकोट गाउँपालिका क्षेत्रमा बाख्रा पालक कृषकहरूको सङ्ख्या उल्लेख्य रहेकाले यहाँ वाट बर्सेनि सयौँ को सङ्ख्यामा खसीबोका काठमाडौँ पोखरा लगाएतका शहरमा निर्यात गर्ने गरिएको छ । यहाँ बाख्रापालन गर्ने कतिपय महिलाहरूले विदेश गएका श्रीमान्ले भन्दा बढी आम्दानी गर्ने गरेको उदाहरण पनि भेटिन्छ । कृषकहरूलाई प्रोत्साहन गर्न भनि हुप्सेकोट गाउँपालिकाले प्रतिकिलो मासुमा रु १० अनुदान दिने नीति लिए पछि स्थानीय थप उत्साहित भएका छन् । सहकारी मार्फत खसीबोका विक्री गर्दा प्रतिकिलो रु १० थप रकम गाउँपालिकाले दिने भए पछि यहाँ व्यावसायिक बाख्रापालन गर्नेको सङ्ख्या बढेको सहकारीको व्यवस्थापक परियारले बताउनु भयो ।

किसानलाई प्रोत्साहन गरी पालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरूप आर्थिक वर्ष २०७८/७९ देखि किसानलाई अनुदान दिन थालिएको बताउँदै सहकारीमार्फत विक्री गरिएका खसीबोकामा प्रतिकिलो रु १० का दरले रकम उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा प्रतिकिलो रु पाँच अनुदान दिइएको थियो ।

Related Post

Leave A Comment