Latest
img

कावासोतीमा दुई सातादेखि उठेन फोहोर

नवलपरासी — कावासोती नगरपालिकाभित्र दुई सातादेखि फोहोर नउठ्दा दुर्गन्ध बढेको छ । फोहोर नउठेपछि स्थानीयले चोकचोकमा जलाउन सुरु गरेका छन् । यसले झन् प्रदूषण बढेको छ ।

डम्पिङसाइट विवादका कारण बजार क्षेत्रको फोहोर उठ्न नसकेको हो । यसअघि अंकुर आदर्श सामुदायिक वन क्षेत्रमा फोहोर फालिँदै आएकामा उपभोक्ता समितिले अवरोध गरेपछि बजारमा फोहर थुप्रिँदै गएको हो ।

वनका अध्यक्ष लोकबहादुर थापाले नगरपालिका र सामुदायिक वनबीच भएको सम्झौताअनुसार नगरपालिकाले काम नगरेका कारण फोहोर फाल्न नदिएको बताए । ‘५ वर्ष बितिसक्दा पनि कम्पोस्ट मल बनाउने प्रक्रिया सुरु भएन । फोहोरको वर्गीकरण पनि भएन,’ उनले भने, ‘यसका कारण गाउँमा दुर्गन्ध फैलिएको छ ।’

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलले ५ वर्षअघि अंकुर सामुदायिक वन र नगरपालिकाबीच भएको सम्झौता कार्यान्वयन नहुँदा समस्या देखिएको सुनाए । सामुदायिक वनमा खाल्डा खनेर फोहोर फाल्ने व्यवस्था मिलाउने प्रयास भइरहेको उनको भनाइ छ ।

Related Post

Leave A Comment