Latest
img

कक्षामा पढ्दै, खेतबारीमा सिक्दै

नवलपुर- ४ बजेपछि विद्यालय बिदा भएको जनाउ घण्टी बज्यो । सबै विद्यार्थी कक्षाकोठाबाट बाहिरिए । कोही बसमा चढे, कोही साइकल चलाएर त कोही हिँड्दै घरतिर लागे । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थी भने जुत्ता खोलेर विद्यालय पोसाकमा खेततिर लागे ।

नवलपुरको मध्यविन्दु नगरपालिका–९, वसन्तपुरमा रहेको लोक सेवा माध्यमिक विद्यालयले खेती गर्नका लागि आठ कट्ठा जमिन भाडामा लिएको छ । बिहीबारको दिन त्यही खेतमा रोपाइँ गर्ने मौसम जुरेको थियो । त्यसैले सबै जना खुसी हुँदै रोपाइँ गर्न खेततिर लागेका हुन् । छात्रले बिउ पु¥याउने र बाउसे खेलाउने काम गरे भने छात्रा बिउ उखेल्न र धान रोप्न थाले । अहिलेका यो उमेरका धेरै जसो विद्यार्थी खेतको काम गर्न जान्दैनन् । विद्यालयको खेतमा भने विद्यार्थीले रमाएर काम गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक लेखराज भण्डारीले भन्नुभयो, “सबैले सामूहिक रूपमा काम गर्दा जाँगर चल्छ, नजानेकाले पनि काम गर्न सिक्छन् । अनि पैसा पनि हुने र प्राक्टिकल पनि हुने भएकाले विद्यार्थी यस्तो काम गर्न निकै रुचाउँछन् ।”

कक्षा ११ मा अध्ययनरत शान्ति परियारले यस्ता कामले सिकाइका साथै परियोजनाको काम हुने भएकाले धेरै फाइदाजनक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यही काम घरमा बाआमाले अराउँदा गर्न मन लाग्दैन तर स्कुलमा सर, मिसले भन्दा गरिन्छ । त्यसले एउटा त हाम्रो लागि सिकाइ हुन्छ भने ‘प्रोजेक्ट वर्क’ को काम पनि हुन्छ । ज्याला पनि आउने र त्यो ज्याला विद्यार्थीकै कोषमा जम्मा हुने भएकाले धेरै फाइदाजनक हुँदो रहेछ ।”

विद्यालयले बारीमा मौसमी तरकारी र अन्न उत्पादन गर्दै आएको छ । यसअघि आलु, घिरौँला, लौका, करेला, खुर्सानी, गोलभेँडा जस्ता तरकारी लगाइएको थियो । कक्षा १० मा अध्ययनरत बाल इको क्लबका अध्यक्ष सोमबहादुर विकले भन्नुभयो, “यही बारीमा हामी आफैँले उत्पादन गरेको आलु मध्यविन्दु रैथाने कृषि महोत्सवमा लगी स्टल नै राखेर बेचेका थियौँ ।” बारीमा काम गर्नका लागि नगरपालिकाको कृषि शाखाले पनि सहयोग गर्ने, सिकाउने काम गरिरहेको विकले बताउनुभयो ।

प्रधानाध्यापक भण्डारीका अनुसार बारीमा उत्पादित तरकारी शिक्षक, अभिभावक र छिमेकीलाई सस्तो मूल्यमा बेचिन्छ भने बढी भएको तरकारी बजार लगेर बेच्ने गरिएको छ । त्यस्तै विद्यालयको दिवा खाजा कार्यक्रमका लागि पनि आफैँले उत्पादन गरेको अन्न र तरकारी प्रयोग गर्ने गरिएको भण्डारीले बताउनुभयो ।

तरकारी र अन्न बेचेर आएको रकम विद्यार्थी कोषमै जम्मा गर्ने गरिएको छ । प्रअ भण्डारीले भन्नुभयो, “इको क्लबका विद्यार्थीको आफ्नै बैङ्क खाता छ । बचत रकम त्यही खातामा जम्मा गर्छौं  । विद्यालय समयपछि काम गर्नेलाई ज्याला पनि दिन्छौँ । यसले विद्यार्थीको प्राक्टिकल नम्बरमा सहयोग गरी उनीहरूलाई व्यावहारिक पनि बनाउँछ ।”

कृषि संस्कृतिसँग विद्यार्थीलाई जोड्ने र गाउँघरको परम्परा जगेर्ना गर्ने उद्देश्यले विद्यालयले यस्ता कार्यक्रम गर्दै आएको छ । यस्तो प्रयासले यहाँका बालबालिकामा कृषि पेसाप्रति सकारात्मक सोच विकास गरिरहेको विद्यालयको बुझाइ छ ।

विद्यालय प्रशासनले विद्यार्थीमा श्रमको महत्व, प्रकृतिप्रतिको प्रेम र ग्रामीण जीवनशैलीप्रति आकर्षण बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने भण्डारीले बताउनुभयो ।
गोरखापत्र

Related Post

Leave A Comment