मंग्सिर २३, २०८१ आइतबार
मीना कंडेल
कावासोती- नवलपुरको देवचुली–१५ प्रगतिनगरमा रहेको पशुपति साङ्गवेद आवासीय माध्यमिक विद्यालय सञ्चालन गर्नका लागि धनधान्याञ्चल ज्ञान महायज्ञ हुने भएको छ । विद्यालयमा आवासीयरूपमा रहेर अध्ययनरत विद्यार्थीको पठनपाठन, भोजन, आवास लगायतको व्यवस्थाका लागि हरेक वर्ष विद्यालयमा धनधान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरेर खर्च व्यवस्थापन गर्ने गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिभक्त भट्टराईले बताउनु भयो ।
पशुपति साङ्गवेद आवासीय माध्यमिक विद्यालय परिसरमा तृतिय अखिल नेपाल देशीय वेदान्त सन्त सम्मेलन एवं शतचण्डी धनधान्याञ्चल ज्ञान महायज्ञ मङसिर २४ गतेदेखि मङसिर ३० गते सम्म आयोजना हुने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको यज्ञ सम्पादन मूल समिति का होमनाथ जैसीले बताउनु भयो । देव देवालय, पञ्चशाला(पाठशाला, धर्मशाला, यज्ञशाला,पाकशाला र गौशाला) व्यवस्थापनका लागि ज्ञान महायज्ञ गर्दे आएको उहाँले बताउनु भयो ।
विसं २०४६ चैत २२ गते रामनवमीको दिन संस्कृत शिक्षा प्रदान गर्नेे उद्धेश्यले स्थापित यो विद्यालयमा आवासीयरूपमा कक्षा ६ देखि कक्षा १२ सम्म अध्यापन हुुने गरेको छ । अहिले यस विद्यालयमा ७० जना विद्यार्थीले अध्ययन गरेका छन् । हरेक वर्ष स्थानीयवासीले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर सञ्चालनको खर्च जोहो गर्दै आइरहेको उहाँले बताउनु भयो ।
स्थानीय तह र प्रदेश सरकारबाट टुक्रे योजना र सामान्य अनुदानबाहेक राज्यबाट थप केही आउँदैन, विद्यार्थीको पठनपाठन, भोजन, आवासलगायतको व्यवस्थाका लागि हरेक वर्ष धनधान्याञ्चल आयोजना गर्नुपर्ने बाध्यता रहेको यज्ञ सम्पादन मूल समितिका सयोजक उद्योग बहादुर श्रेष्ठले बताउनु भयो ।
ब्रह्मलीन श्रोत्रिय ब्रह्मनिष्ठ श्री १००८ स्वामी सच्चिदानन्द पुरीले वैदिक वाङ्मय एवं षोडश संस्कार संरक्षणको अवधारणाअनुसार पूर्वी नवलपरासीको देवचुली–१५ मा विद्यालयको स्थापना गर्नुभएको थियो । विद्यालयमा आवासीयरूपमा रहने विद्यार्थीको भोजन, आवासलगायतका अत्यावश्यक वस्तुको व्यवस्थापनका लागि विसं २०५६ देखि पशुपति वैदिक आश्रम (ट्रष्ट)को स्थापना गरेर विद्यालयको दैनिक खर्च व्यवस्थापन सो आश्रमको मातहतमा गरिँदै आएको छ । धनधान्याञ्चल ज्ञान महायज्ञमा दैनिक पूजा आर्जना, तुलादा भजन कृतन , लक्ष्यवर्ती दीप प्रज्वलन लगाएतका कार्यक्रम हुने आयोजकले जनाएको छ ।
Leave A Comment