Latest
img

ओसिया ब्युटी पार्लरले मनायो १३ औँ वार्षिकोत्सव

नवलपुर- ओसिया ब्युटी पार्लरले १३ औँ वार्षिकोत्सव मनाएको छ । कावासोती नगरपालिका वडा नम्बर २ थाना चोकमा रहेको ब्युटी पार्लरले जिल्ला समन्वय समितिका उपप्रमुख शकुन्तला लम्सालको प्रमुख आतिथ्यतामा सोमवार एक कार्यक्रमको आयोजना गरी मनाएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख शकुन्तला लम्सालले महिलाहरू हरेक क्षेत्रमा आत्मनिर्भर हुनुपर्ने बताउनुभयो । आफ्नो सिप र क्षमतालाई समय सापेक्ष बढाउँदै लैजानुपर्नेमा जोड दिँदै उहाँले पछिल्लो समय केही महिलाहरूले सौन्दर्य क्षेत्रलाई व्यावसायिक रूपमा स्थापित गर्दा सौन्दर्य क्षेत्रमा आकर्षण बढ्दै गएको बताउनुभयो ।

 स्थापना काल देखि ओसिया ब्युटी पार्लरले धेरै महिला सौन्दर्यकर्मी जन्माउन सफल भएकोमा भन्दै १३ औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै सौन्दर्यकर्मी सङ्गठन नेपालका केन्द्रीय महासचिव बाल कुमारी रानाभाटले सौन्दर्य क्षेत्रमा निरन्तर मेहनत र सङ्घर्षले आज बाह्र वर्ष पार गर्न सफल भएकोमा शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै अटुट ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरका प्रमुख एवं सौन्दर्यकला कर्मी नवलपुर जिल्ला उपाध्यक्ष तीलादेवी अर्यालले स्थापनाकालमा निकै दुख र सङ्घर्ष गरेको हुँदा आज उत्सव मनाउन पाइएको भन्दै आगामी दिनमा पनि व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

बाह्र वसन्त पार गरी तेह्र वसन्तमा लाग्दै गर्दा आजको दिनसम्म ग्राहकहरूको चाहना अनुसार व्यवसायलाई बढाउँदै र परिष्कृत गर्दै लगेको ओसिया ब्युटी पार्लरका प्रमुख विष्णु ढकाल बजगाईले बताउनुभयो । ग्राहकहरूको माया र सद्भावले आफू यहाँसम्म आई पुग्न सफल भएको भन्दै आगामी दिनमा पनि साथ र सहयोग अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रममा चितवन ब्युटी पार्लर सङ्घका अध्यक्ष सङ्गीता आचार्य अर्याल, आरती ब्युटी पार्लरका प्रमुख आरती ढकाल तामाङ, सौन्दर्य कलाकर्मी नवलपुर जिल्ला अध्यक्ष लक्ष्मी थापा मगर, वेल टेन स्किन प्रडक्टका दुर्गा अधिकारी, एस एम ब्युटी पार्लरका प्रमुख सिता थनेत, स्टाइलिस ब्युटी होमका प्रमुख सुमी सेन्चुरी लगायत विभिन्न संघसस्थामा आबद्ध प्रमुख एवं प्रतिनिधि र सौन्दर्य कलाकर्मीहरूको सहभागिता रहेको थियो ।

Related Post

Leave A Comment