Latest
img

आयात रोकेपछि नेपालमै आयो रेडबुल उत्पादन गर्ने कारखानाः अर्थमन्त्री महत

नवलपुर- अर्थमन्त्री डा.प्रकाशशरण महतले ‘रेडबुल’ ब्रान्ड आयात रोकिएपछि उद्योग नै नेपाल आएको बताएका छन् । आज (मंगलबार) नवलपरासीमा ‘रेडबुल’ उद्योगको उद्घाटन गर्दै अर्थमन्त्री डा.महतले सरकारको महत्वपूर्ण कदमका कारण उद्योग नेपालमा स्थापना हुने अवस्था निर्माण भएको बताएका हुन् । सरकारले २०७६ असार २ गते राजपत्रमा सूचना प्रकाशन गरी इनर्जी ड्रिंक्सको आयात बन्द गरेको थियो । जसका कारण रेडबुलसहितका अन्य उत्पादनको आयात बन्द भएको थियो ।

रेडबुल नेपालमा लोकप्रिय पेय पदार्थ बनि सकेको थियो । ‘हामीले आयात नरोकेको भए आज यहाँ उद्योग बन्थेन, आयात रोकियो उद्योग पनि यही आयो’ मन्त्री महतले भने ‘रेडबुल अब नेपालमै उत्पादन सुरू भएको छ, यसले रोजगारी दिनेछ, माग अनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्छ । आम्दानी पनि यो क्षेत्रका लागि तीन गुणा बढ्छ, सँगसँगै राजस्व पनि देशका लागि तीन गुणा बढ्छ ।’

अर्थमन्त्री महतले सरकारले उद्योग निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गरिरहेको बताए । ‘सरकारले लगानी गर्ने वातावरण बनाइ दिने हो, आफै उद्योग खोल्दै बस्ने होइन, सबैलाई रोजगारीको वातावरण बनाएर सरकारले राजश्व उठाएर जनताको सेवामा खर्च गर्ने, शिक्षा, स्वास्थ्य, सडक निर्माणमा खर्च गर्ने हो’–उनले भने ।

मन्त्री महतले विभिन्न कारणले नेपालको अर्थतन्त्र समस्यामा भए पनि अब सुधारोन्मुख रहेको बताएका छन् । ‘धेरैले गलत ठाउँमा ऋण लगानी गर्नुको साथै जग्गा र शेयर मार्केटमा लगानी गर्नाले समस्या भएको, हामी समाधान गर्ने प्रक्रियामा छौं । राम्रो गर्न खोज्दा खोज्दै समस्यामा परेकाहरुलाई ऋणको समयसीमा बढाउनेदेखि अन्य सहयोग सरकारले गर्छ ।’–अर्थमन्त्री महतले भने ।

उनले अपेक्षित राजस्व वृद्धि नहुनु आफ्नो लागि चिन्ताको विषय भएको बताए। आर्थिक क्रियाकलाप विस्तार गर्नको लागि सरकारले पूर्वाधारमा लगानी बढाउने उनको भनाइ छ । ‘राजस्वबारे म एकदमै चिन्तित छु, परिवारमा जति धेरै आम्दानी भयो, त्यति बढी खर्च गर्ने क्षमता हुन्छ । परिवारको आवश्यकता पूर्ति गर्न सक्छ । देश भनेको पनि परिवार–परिवार मिलेर बनेको ठूलो परिवार हो,’ महतले भने, ‘देशलाई पनि आम्दानी हुने स्रोत र आम्दानीको आवश्यकता छ । सरकारले जति धेरै आम्दानी गर्छ, त्यति नै हामी पूर्वाधारमा लगानी गर्न सक्छौं। यसका लागि निजी क्षेत्रबाट लगानी वृद्धि हुनुपर्छ ।’

Related Post

Leave A Comment