Latest
img

प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधी आर्मीका राजन रोकायालाई

प्रेम क्षेत्री
गैँडाकोट- प्रथम गैँडाकोट हाफ म्याराथन २०८० को उपाधि त्रिभुवन आर्मी कल्बका राजन रोकायाले हात पार्नुभएको छ । उहाँले निर्धारित २१ किलोमिटरको दुरी १ घण्टा ३ मिनेट ५ सेकेण्डमा पुरा गर्नुभएको थियो । विजयी भएसँगै उहाँले १ लाख पुरस्कार हात पार्नुभयो । त्यस्तै दोस्रो स्थान पनि त्रिभुवन आर्मी कल्बकै नरेन्द्र सिंह राउतले हात पार्नुभयो । उहाँले निर्धारित दुरी १ घण्टा ३ मिनेट ३० सेकेण्डमा पुरा गरी ५० हजार पुरस्कार हात पार्नुभयो । त्यस्तै तेस्रो स्थान धापाखेल काठमाडौँका अजित कुमार यादवले हात पार्नुभयो । उहाँले निर्धारित दुरी १ घण्टा ५ मिनेट ५२ सेकेण्डमा पुरा गर्नुभयो । विजयी भएसँगै उहाँले २५ हजार पुरस्कार हात पार्नुभयो ।

महिलातर्फ एपिएफका सिमा चौधरी प्रथम हुनुभयो । उहाँले सोही दुरी १ घण्टा २७ मिनेट १४ सेकेण्डमा पार गर्नुभएको थियो । उहाँलाई २५ हजार पुरस्कार प्रदान गरिएको थियो । क्रमशः टप टेन भित्र पर्ने धावकलाई प्रोत्साहन स्वरुप जनही ५ हजार, टप ५० जनालाई मेडल प्रदान गरिएको थियो ।  त्यस्तै ५ किलोमिटर विद्यार्थी मैत्री दौड प्रतियोगितामा पश्चिम नवलपरासीका प्रेमलाल कोहार प्रथम हुनुभयो । उहाँले निर्धारित दुरी १५ मिनेट १९ सेकेण्डमा पुरा गर्नुभयो । विजयी भएसँगै उहाँले १० हजार पुरस्कार हात पार्नुभयो । तनहुँ रिसिङका अमृत विकले १५ मिनेट ३६ सेकेण्डमा पुरा गरी दोस्रो हुनुभयो । उहाँले ५ हजार पुरस्कार पाउनुभयो । काठमाडौँ चन्द्रागिरीका अनुज महत तेस्रो हुनुभयो । १५ मिनेट ५५ सेकेण्डमा दुरी पार गरी उहाँले ३ हजार पुरस्कार पाउनुभयो । यस प्रतियोगितामा ८ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीले सहभागिता जनाएका थिए ।

विजय फाउण्डेसन नेपालको आयोजनामा भएको प्रथम गैँडाकोट हाफ म्याराथन २०८० मा २१ किलोमिटरका लागि २८ महिला सहित २५० जनाले नाम टिपाएका थिए भने ५ किलोमिटरको विद्यार्थीतर्फ १८० जनाले नाम टिपाएको संयोजक आदर्श सिग्देलले जानकारी दिनुभयो ।  विजय फाउण्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाले ‘नेपाली पन, नेपाली मन र नेपाली धन’ सहित भन्ने नारा सहित स्थापित फाउण्डेशनले गैँडाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । स्वास्थ्य र खेलकुदमा अब गैँडाकोट अघि बढेको बताउँदै हरेक वर्ष पौष १५ गतेका दिन प्रतियोगिता गरिने बताउनुभयो ।

गैँडाकोट नगरपालिका नगर प्रमुख मदनभक्त अधिकारीले खेलकुद स्वास्थ्यका लागि महत्त्वपूर्ण रहेको बताउँदै विजय परिवारको कामको प्रशंसा गर्नुभएको थियो । विशिष्ट अतिथि अन्तर्राष्ट्रिय म्याराथुन धावक वैकुण्ठ मानन्धरले मोफसलमा यस खालका कार्यक्रमको लागि विजय फाउण्डेशनसँगै विजय परिवारको कामले प्रभावित भएको बताउनुभयो ।
विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सामाजिक कार्यमा विजय परिवार निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा समेत यस खालका कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

भेट्रान धावक बुद्धविर लामाले आर्थिक रुपमा ठूला भार पर्ने भएपनि आयोजकको यसखालको प्रयासले धावकहरुमा उत्साह थपिने बताउनुभयो ।  गैँडाकोटका चोक–चोकमा गैँडाकोटबासीले घडा स्थापना गरी स्वागत गर्नुका साथै धावकलाई हौसला प्रदान गरेका थिए । ५० बढी चोकमा प्रहरी, ट्राफिक प्रहरी, स्वयम्सेवक खटाइएको थियो ।

गैँडाकोट ५ विजय सामुदायिक शिक्षा सदनबाट सुरु भएको दौड गैँडाकोट ८ विजय विकास स्रोत केन्द्रलाई देब्रे पार्दै नन्दन वन, भानु चोक, गैँडाकोट ७ गैरी, जयश्री पुल, गैँडाकोट ९ थुम्सीबाट जयश्री फुड्सबाट गैँडाकोट ७ टेम्पो पार्कहुँदै पिसपार्क, गैँडाकोट ६ गैँडाचोक, गैँडाकोट ५ नारायणी नदी किनार, गैँडाकोट २ इलाका प्रहरी कार्यालयदेखी शिलान्यास चोक, गैँडाकोट १ विकास चोक, बैंकटेश मन्दिर, मौलाकाली फेदीबाट मिलनचोक हुँदै गैँडाकोट ४ कालिगण्डकी करिडोर, गैँडाकोट पम्पिङ, लखनचोक, गैँडाकोट ५ काँग्रेसचोक, गणेश मन्दिर, कालिकाचोक, जनक स्कूल हुँदै विजय सामुदायिक शिक्षा सदन पुगेको थियो ।

Related Post

Leave A Comment