Latest
img

दादुरा-रुवेलाविरुद्धको खोप अभियान आजदेखि सुरु

काठमाडौं- दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित र प्रभावकारी रहेकाले आ-आफ्नो बालबालिकालाई खोप लगाउन सबैलाई अनुरोध गरेको छ ।

महाशाखाका निर्देशक डा विवेककुमार लालले खोपको प्रभावकारिता ८५ प्रतिशत रहेको जानकारी दिनुभयो । दादुरारुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ ।

बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोपलाई डब्लुएचओले गुणस्तरययुक्त भनी प्रमाणित गरेको र औषधि व्यवस्था विभागले मान्यता दिएको बताउनुभयो ।

उहाँले खोप लगाएपछि बच्चालाई ज्वरो आउने, रुघाखोकी आउने जस्ता समस्या देखिए पनि नआत्तिन आग्रह गर्नुभयो । खोप लगाएपछि बच्चामा समस्या हुने भएकाले जिल्लामा आकस्मिक उपचारको टोली पनि गठन गरिएको छ ।

भारतसँग सिमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौँ उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइदैछ ।

यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने छ । अभियानमा करिब ५७ लाख बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप लगाइने लक्ष्य राखिएको छ ।

सन् २०२६ सम्म दादुरा-रुवेला निवारण गर्ने लक्ष्यका साथ सरकारले खोप अभियान सञ्चालन गर्न लागेको हो । गत वर्ष १९ जिल्लामा दादुरा-रुवेला महामारीका रुपमा फैलिँदा एक हजार तीन सय ४९ जना सङ्क्रमित भएका थिए । दादुरा–रुवेला सबभन्दा बढी सङ्क्रामक रोग हो । एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

नवलपुरमा १ लाख २२ हजार बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाइने

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्तिनाथ भट्टराईका अनुसार नवलपुरमा १ लाख २२ हजार बालबालिकालाई उनीहरुकै विद्यालयमा गएर दादुरा रुवेला विरुद्धको खोप लगाइने भएको हो । थोरै संख्यामा विद्यार्थी भएका बालबालिकालाई भने नजिकैको अर्को विद्यालयमा खोप लगाइने भएको छ ।
नवलपुरको गैडाकोट, बौदीकाली र बुलिङ्गटारमा फाल्गुन १३ गतेदेखि र देवचुली, कावासोती, हुप्सेकोट, विनयी त्रिवेणी र मध्यविन्दुमा भने फाल्गुन २० गतेदेखि खोप लगाइने छ ।

नियमित खोप लगाएका वा लगाउन छुटेका सबै र विद्यालयको पहुँच बाहिर भएका बालबालिकालाई पनि नजिकैको पायक पर्ने विद्यालयमा खोप लगाइने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख भट्टराईले बताए ।

Related Post

Leave A Comment