Latest
img

अटो दुर्घटनामा परी गाविस पूर्व अध्यक्षको मृत्यु

मध्यविन्दु -नवलपरासी(बर्दघाट सुस्तापूर्व)को साबिक नयाँ बेलाहानी गाविसका पूर्व अध्यक्ष भूपलाल अर्यालको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका–११ को कोटथर गरगरेमा बुधवार बिहान अटो दुर्घटनामा घाइते हुनु भएका अर्यालको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी बेद बहादुर पौडेलले बताउनु भयो ।

मध्यविन्दु नगरपालिका–११ को दमारबाट अरुणखोला तर्फ आउने क्रममा अर्याल सवार ग.प्र. ०४–००१ ह ००४ नं. अटो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते उहाँलाई मध्यविन्दु जिल्ला अस्पतालबाट थप उपचारको लागि चितवन लगिएको थियो ।
दुर्घटनामा घाइते मध्यविन्दु न.पा. १० की ७६ वर्षीय टिका देवी काफ्लेको र ७० वर्षीय तोयानाथ पोख्रेलको अहिले पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । उहाँहरूको अवस्थामा मध्यम रहेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेको अटोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वि.सं.२०५४ मा नेकपा एमालेको तर्फबाट नयाँ बेलाहानी गा.वि.स.को अध्यक्ष पदमा निर्वाचित अर्याल यस क्षेत्रमा नैतिक वान व्यक्तिको रूपमा परिचित हुनुहुन्थ्यो । उहाँको कार्यकालमा देशभरको उत्कृष्ट गा.वि.स. को रूपमा नयाँ बेलाहानी गा.वि.स. सम्मानित समेत भएको थियो । निर्णय पक्रिया, परादर्शीता, जनसहभागिता लगायतको पक्षको मूल्याङ्कनमा नयाँ बेलाहानी गा.वि.स. उत्कृष्ट बनेको थियो । लामो समय देखि सामाजिक तथा रानितिक कार्यमा क्रियाशील अर्याल हाल मानव अधिकार समूह मध्यविन्दुका अध्यक्ष हुनुहुन्थ्यो । उहाँ नेकपा एमालेको जिल्ला कमिटी सदस्य एवम् मध्यविन्दु नगर सह–इन्चार्जको जिम्मेवारीमा रहनु भएको थियो ।

Related Post

Leave A Comment