मंग्सिर २२, २०८१ शनिबार
मीना कँडेल
कावासोती- नवलपुरका पर्यटकीय क्षेत्रमा यतिखेर आन्तरिक तथा विदेशी पर्यटकको भिड लागेको छ । अमलटारी क्षेत्रबाट निकुञ्जभित्र जङ्गल सफारी जाने आन्तरिक र बाह्य पर्यटक वृद्धि भएका छन् । नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत नवलपुरको कावासोती डन्डाबाट करिब सात किलोमिटर दक्षिणमा रहेको घरबासमा पर्यटकको भिड लाग्ने गरेको छ ।
मध्यवर्ती सामुदायिक घरबासका अध्यक्ष प्रेमशङ्कर मर्दनिया थारूले पूर्वपश्चिम राजमार्गको सडक निर्माण भइरहेको अवस्थामा केही समय पर्यटक कम भए पनि अहिले विस्तारै वृद्धि भएको बताउनुभयो । दैनिक एक सय जनासम्म पर्यटक आउने गरेका उहाँको भनाइ छ । घरबास गाउँमा अमेरिका, अस्ट्रेलिया, बेलायत, क्यानडाबाट विदेशी पाहुना आउने गरेका छन् । विसं २०७० बाट सञ्चालन गरिएको घरबासमा हालसम्म एक लाखभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई लक्ष्य गरी सञ्चालनमा आएको घरबासमा पर्यटकको आकर्षण बढेको हो । यहाँको नारायणी नदी फराकिलो क्षेत्रमा फैलिएका कारण डुङ्गा चढेर निकुञ्ज आसपासका दृश्य अवलोकन गर्ने र नदीका चरा हेर्ने पर्यटक बढ्दै गएका स्थानीय धनीराम गुरौले बताउनुभयो ।
निकुञ्ज प्रवेश गर्दा अनिवार्य नेचर गाइड लैजानुपर्ने भएकाले स्थानीय तहमा रोजगारी बढेको आशा बोटेको भनाइ छ ।
आन्तरिक तथा बाह्य पर्यटक वृद्धि भएपछि आफूले पनि रोजगारी पाएको उहाँले उल्लेख गर्नुभयो । अमलटारी घरबास गाउँसहित १० बर्से रणनीतिक योजनासमेत तय गरिएको छ । यस अनुसार एक घर, एक रोजगार, गाउँमा शतप्रतिशत साक्षरता, वातावरणमैत्री व्यवसाय, सबै घरमा किचन गार्डेनसहित यहाँका थारू, बोटेलगायतका समुदायका संस्कृति, रहनसहनलाई संरक्षण गर्ने गरी म्युजियम निर्माणको योजना रहेको अध्यक्ष थारूले बताउनुभयो ।
जैविक विविधताको संरक्षण, दिगो वन व्यवस्थापन, मानव वन्यजन्तुको सहअस्तित्व कायम गर्दै यो क्षेत्रलाई पर्यापर्यटनको गन्तव्य क्षेत्रका रूपमा विकास गर्ने अभियान रहेको अध्यक्ष थारूले बताउनुभयो । आर्थिक तथा पर्यटन विकास मात्र नभएर जैविक पर्यापर्यटनका गतिविधि बढ्दा यसले संरक्षणको क्षेत्रमा थप टेवा पु¥याउने उहाँको भनाइ छ ।
पर्यटकलाई सामुदायिक वनमा जिप सफारी, वन्यजन्तुको अवलोकन तथा डुङ्गा सयर गराउने गरिएको छ । दिउँसो वन्यजन्तुको अवलोकनपछि पर्यटकलाई साँझ थारू र बोटे जातिको सांस्कृतिक नाच देखाउने गरिएको छ । यहाँको कला, संस्कृति, स्थानीय रहनसहन र खानाका परिकारको स्वादमा पर्यटक रमाउने गरेका छन् ।
Leave A Comment