पुष १९, २०८१ शुक्रबार
मीना कँडेल
कावासोती- नवलपुरमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । जलवायु परिवर्तनले गर्दा समयमा पानी नपर्नु, सुख्खा खडेरीले समयमा पानी नपर्दा बिउँ राख्न पनि ढिला हुनु र रोपाइँको क्षेत्रफलकम हुनु धान उत्पादनको मुख्य कारण रहेको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।
धान फुल्ने समयमा अधिकतम तापक्रममा वृद्धि भएपछि दाना नलाग्ने समस्या देखिएपछि धान उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । जिल्लामा ५५ प्रतिशत सिँचाइ पुगेको छ भने ४५ प्रतिशत आकाशेपानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ ।
गैंडाकोट, देवचुली, कावासोती नगरपालिका र पहाडी क्षेत्र बुलिङटारमा धान हुने गरेको छ । अहिले असोज ११, १२ गते आएको बाढीका कारण जिल्लाको बगुवन र मध्यबिन्दुमा धान बालीमा बढी क्षति पुगेकाले पनि धान उत्पादनमा कमी आएको ज्ञान केन्द्रका प्रमुख तिवारीको भनाइ छ ।
विशेषगरी सावित्री र साँवामा धानमा दाना नलाग्ने समस्या देखापरेको उहाँले बताउनुभयो । रोग र किराको समस्या देखिए पनि समयमा नै त्यसको न्यूनीकरण हुँदा र भित्र्याउँदाको समय पनि अनुकूल रहँदारहँदै पनि धानको उत्पादन घटेको प्रमुख तिवारीले बताउनुभयो ।
गत वर्ष जिल्लामा गत वर्ष १८ हजार ६२८ हेक्टरमा धान रोपाइँ गरिएको थियो । यसमा प्रतिहेक्टर ४ दशमलव १८ प्रतिशतले उत्पादकत्वमा वृद्धि भई ७७ हजार ८३५ मेट्रिकटन उत्पादन भएको थियो ।
जिल्लामा यस वर्ष १८ हजार ६९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिएको थियो । गत वर्षभन्दा यसवर्ष रोपाइको क्षेत्रफल बिस्तार ५४० हेक्टरले कमी आएको र यसमा ७१ हजार ८५५ मेट्रिकटन उत्पादन भएको छ । प्रतिहेक्टर ३ दशमलब ९८ मेट्रिकटन उत्पादन भएको कृषि कृषि ज्ञान केन्द्रका बाली अधिकृत सञ्जय ढकालले बताउनुभयो ।
नवलपुरमा सावित्री, रामधान, सावा मनसुली, अनधी र स्थानीय प्रजातिलगायत उन्नत जातका धानखेती हुने गर्छ
Leave A Comment