कावासोती- पौरखी सहकारी संस्थाको विस्तारित मञ्च आज कावासोतीमा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विस्तारित मञ्चका समिति, सल्लाहकार, अन्य उपसमिति र शेयर सदस्यहरूको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं साकोसका संस्थापक सदस्य, जिल्ला समन्वय समिति प्रमुख विश्वकर्माले पौरखी अन्य सहकारी भन्दा अग्रणी रहेको र यसले सामाजिक उत्तरदायित्व अन्तरर्गत गरेका कार्य राम्रो भएको बताउनुभयो ।
यस साकोसले आफूलाई अन्य साकोस भन्दा फरक ढङ्गले समुदायमा स्थापित गर्न सफल भएको भन्दै उहाँले अहिले सहकारीहरूको ठुलो हलचल आएको अवस्थामा यस किसिमका कार्यक्रम गरेर सेयर सदस्यहरूलाई सहकारीका बारेमा अवगत गराउने काम गर्दा सेयर सदस्यहरूलाई पनि ढुक्क हुने वातावरण सृजना गर्ने बताउनुभयो । सेयर सदस्यहरूलाई संस्थाको बारेमा सबै कुरा छर्लङ्ग पारेर जानकारी गराइदा आफ्नो पैसा सुरक्षित छ है भनेर ढुक्क हुने वातावरण बनाउने उहाँको भनाई थियो ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष याम बहादुर थापाले सामाजिक सुरक्षा तथा राहत कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो । उहाँले पौरखी साकोसले अन्य सहकारीले नगरेको काम सामाजिक सुरक्षा कार्यक्रम ल्याएर कार्यान्वयन गरेको र यस कार्यक्रमबाट सेयर सदस्यहरू लाभान्वित समेत भएको बताउनुभयो । यस कार्यक्रम अन्तरगत मुटु मिर्गौला तथा क्यान्सर जस्ता दीर्घ रोग लागेका सेयर सदस्य तथा एकाघरका सदस्यहरूलाई तीन लाख रुपैयाँ सम्म औषधी उपचार रकम प्रदान गरिने उहाँले जानकारी दिनुभयो । यसै गरी संस्थाले राहत कोष अन्तरगत प्राकृतिक प्रकोप तथा मृत्यु राहत कोषबाट समेत सहयोग गर्दै आएको बताउनुभयो ।
यसै गरी कार्यक्रममा सहकारीका व्यवस्थापक नीलकण्ठ पराजुलीले संस्थाको वित्तीय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले पौरखी साकोसले वित्तीय अनुशासन कायम राख्दै पारदर्शी रूपमा संस्थाका गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले संस्थाको फेसबुक पेज मार्फत प्रत्येक महिना संस्थाको वित्तीय स्थिति सार्वजनिक गर्ने काम गर्दै आएको बताउनुभयो । संस्थामा आबद्ध सेयर सदस्यहरूको बचतलाई सही ढङ्गले परिचालन गर्दै संस्थालाई अब्बल बनाउन लागिपरेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका कानुनी सल्लाहकार ऋषि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै पौरखी साकोसले गरेका कामहरू उदाहरणीय रहेको बताउनुभएको थियो ।
संस्थाका अध्यक्ष सालिकराम कोइरालाको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रम आफ्नो भनाई राख्दै उहाँले पौरखी साकोसलाई जिल्लाकै अब्बल संस्थाका रूपमा स्थापित गर्न आफूहरू लागिपरेको बताउनुभयो । पौरखीले समय समयमा विस्तारित मञ्च आयोजना गरेर संस्थाको बारेमा जानकारी गराउने काम गरिरहेको बताउनुभयो ।
यस कार्यक्रममा संस्थाका मुख्य एजेन्डाहरूमाथि मात्रै चर्चा गर्ने र सेयर सदस्यहरूबाट गुनासो तथा सुझाव समेत सङ्कलन गर्ने कार्य गरिने बताउनुभयो । उहाँले पौरखी नेफ्स्कून सँग आबद्ध भएको हुँदा नीति विधि र प्रविधिको अब्बल सहकारी संस्थाको रूपमा आफूलाई स्थापित गरेको उहाँको भनाई थियो । यस सहकारीको सामाजिक सुरक्षा कार्यक्रम मुलुकभरका सहकारीले नगरेको कार्यक्रम भएको उहाँको भनाई छ
विस्तारित मञ्चका समिति, सल्लाहकार, अन्य उपसमिति र शेयर सदस्यहरूले सहकारी , सहकारीका कानुन , नीति नियम र पौरखीको वित्तीय अवस्थाको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागि सेयर सदस्यहरूबाट गुनासो तथा सुझाव समेत सङ्कलन गरिएको थियो
Leave A Comment