Latest
img

नारायणीको पानी नवलपुर फर्काउन नदी पीडितको अवरोध

बोमलाल गिरी
नवलपुर-जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीको बहाव परिवर्तन गराउन स्थानीयले अवरोध गरेका छन् । नारायणी पीडितले अवरोध गरेपछि नदीको बहाव परिवर्तन गराउने काम रोकिएको छ ।
बिहीबार र शुक्रबार दुईवटा डोजरले खनेर नारायणीको बहाव परिवर्तन गराउने प्रयास गरेकोमा नदी पीडितले अवरोध गरेपछि तत्काललाई काम रोकिएको जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले जानकारी दिनुभयो ।

२०५८ सालमा नारायणीमा आएको बाढीले पीडित बनाएकाहरूले अहिलेसम्म राहात नपाएको र अहिले नदीको धार परिवर्तन गराउँदा वर्षामा फेरी बाढीको जोखिम हुन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दाले विरोध गरेका हुन् । उनीहरूले अदालतले समेत राहात दिन आदेश दिइसकेकाले सरकारले तत्काल राहात उपलब्ध गराउनु पर्ने, वर्षामा बाढी पस्न नसक्ने गरी तटबन्ध निर्माण गर्नु पर्ने र नारायणीलाई साविककै धारमा बगाउनु पर्ने माग गरेका छन् ।

देवचुली नगरपालिका वडा नं. १७ का नारायणी पीडित नारायण थनेतले तत्काल आफूहरूलाई राहत दिनु पर्ने र राहत दिन नसक्ने हो भने नदीलाई साविककै स्थानबाट बग्ने गरी धार परिवर्तन गराउनु पर्ने बताउनुभयो । साविक नारायणी देवचुलीको पिप्रहर पारीको भङ्गालोबाट बगेको थियो । त्यसो गर्दा वर्षामा थप क्षति हुन नसक्ने थनेतले बताउनुभयो ।

२०५८ सालमा नारायणीमा आएको बाढीले एक सय विघाभन्दा बढी नम्बरी जग्गा बगरमा परिणत गरेको तर अहिलेसम्म क्षतिपूर्ति नपाएको पीडितको गुनासो छ । पिप्रहरका स्थानीयको मात्रै ६० बिघा जमिन नारायणीले बगर बनाइदिएको छ । नारायणीलाई साविककै ठाउँबाट बगाउन नसके वर्षाको समयमा फेरि क्षति व्यहोर्नु पर्ने पिठौली मौजा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण कँडेलले बताउनुभयो ।

जवाफमा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले यो विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउनु पर्ने बताउनुभयो । नारायणी नदीले गरेको कटान रोक्नका लागि तटबन्ध बनाउन र पीडितका लागि राहात उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षण पत्र बुझाउनु पर्ने उहाँको भनाइ छ ।

त्यसका लागि आफूले पहल गर्ने न्यौपानेले प्रतिबद्धता जनाउनुभयो । ‘‘तपाईहरूको माग जायज छन्, यसमा मैले एक्लै गर्न सक्ने केही छैन, तपाईहरू सङ्गठित हुनुस्, प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराऔं, समय व्यवस्थापन म गर्छु,’’ नगरप्रमुख न्यौपानेले भन्नुभयो ।

जिल्ला समन्वय समितिको पहलमा गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका, चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, जिल्ला प्रशासन, जिल्ला प्रहरी, सशस्त्र प्रहरी लगायतको उपस्थितिमा बिहीबारदेखि डोजर लगाएर नारायणीको धार परिवर्तन गरी पानी नवलपुर तिर ल्याउने प्रयास गरिएको थियो ।

नारायणीको उत्खनन् धेरै हुँदा नदी गहिरिएर दक्षिणी भङ्गालो (चितवन क्षेत्र) मा पानीको बहाव धेरै हुँदा उत्तरी भङ्गालो (नवलपुर क्षेत्र) भने हिउँद लागेलगत्तै सुक्खाग्रस्त हुँदै गएको छ । यसका कारण मानिस मरेर जलाएको खरानी बगाउन र दाहसंस्कारपछि नुहाउन तथा सरसफाइ गर्न निकै समस्या परेको स्थानीयले गुनासो गर्ने गरेका छन् ।

नदीको धार परिवर्तनले घडियाल गोहीको वासस्थान नै लोप हुँदै गएको छ भने गैँडाका लागि आहाल खेल्ने पानीको समेत समस्या भएको संरक्षणकर्मीले बताएका छन् । नारायणीको उत्तरी भङ्गालो आश्रित भएर नवलपुरका तटीय क्षेत्रमा सञ्चालन भएका पर्यापर्यटनका गतिविधि सँगसँगै नदीमा आश्रित जलचर र थलचर प्राणीलाई समेत यसले गम्भीर असर पार्ने गैँडा संरक्षण समन्वय समिति नवलपुरका अध्यक्ष विष्णु अधिकारीले बताउनुभयो ।

उत्तरी भङ्गालोमा नदीको पानी कम हुँदा निकुञ्जका वन्यजन्तुसमेत सहजै नवलपुर क्षेत्रका बस्तीमा प्रवेश गर्ने र यसले मानव–वन्यजन्तु द्वन्द्व थप बढ्ने गैँडाकोट–११ का अध्यक्ष सुवेदीले बताउनुभयो ।

नारायणघाटमा रहेको नारायणी नदीको पुलदेखि केही किलोमिटर तल सिख्रौलीघाटबाट नारायणी नदी दुई वटा भङ्गालोमा बाँडिएर बगेको छ । उत्तरी र दक्षिणी भङ्गालो अमलटारीघाटमा आएर मिसिने हुँदा अमलटारीदेखि सिख्रौलीसम्मको उत्तरी भङ्गालो लगभग सुक्खा भएपछि नदीमा आश्रित वन्यजन्तु, जलचर मात्रै नभएर नदीबाट जीविकोपार्जन गर्ने ठुलो सङ्ख्याका सर्वसाधारण समस्यामा परेका देखिन्छ ।

नारायणीको उत्तरी भङ्गालोमा पानी सुक्दै गएपछि नदीमा माछा मारेर जीविकोपार्जन गर्ने बोटे, माझी, मुसहर समुदाय पनि समस्यामा परेका छन् ।

Related Post

Leave A Comment