Latest
img

जैविक मल उत्पादनमा जोड

मीना कंडेल

कावासोती- रासायनिक मलको बढ्दो प्रयोगले उर्वराशक्तिमा कमी आएकाले माटोलाई स्वस्थकर राख्न जैविक मलको आवश्यकता बढी रहने विज्ञहरूले बताउनुभएको छ ।

पछिल्लो समय माटोमा अम्लियपनको मात्रा बढ्दै जान थालेपछि उर्वराशक्तिमा ह्रास आउन थालेको छ । यसै अनुरुप जिल्लाको मध्यविन्दु नगरपालिका र विनयीत्रिवेणी गाउँपालिकाले जैविक मल उत्पादन गर्दै आएका छन् ।

जैविक मललाई प्राथमिकता दिने, स्थानीय जनताको आयआर्जनको स्रोत विस्तार गर्ने र वातावरण संरक्षणमा योगदान पुर्‍याउने लक्ष्यका साथ रासायनिक मललाई विस्थापित गर्दै जैविक मल उत्पादनलाई जोड दिएको पालिकाले जनाएका छन् । गण्डकी प्रदेशका कृषि, भूमी व्यवस्थापन तथा सहकारी मन्त्रालयका सचि डा.टंक प्रसाइले मध्यविन्दुको जैविक मल उत्पादन केन्द्र अवलोकन गर्नुभएको छ ।

अवलोकनका क्रममा नगरपालिकाले सञ्चालनमा ल्याएको नवप्रवर्तन कार्यलाई अझ सहज बनाउन मन्त्रालय समेत लागि पर्ने बताउनुभयो । गण्डकी प्रदेश सरकारको साझेदारीमा मध्यविन्दु–११ कुसुण्डेमा सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालनमा रहेकाले आवश्यक सहयोग गर्ने बताउनुभयो । जैविक मलले कृषि उत्पादन बढाउन र अर्गानिक उत्पादनलाई सहयोग पुर्‍याउने डा. प्रसाइले बताउनुभयो।

रासायनिक मलको प्रयोगलाई शून्य स्तरमा पुर्‍याएर जैविक मलको उत्पादनलाई वृद्धि गर्ने उद्देश्यले कार्य अगाडि बढाइएको नगरप्रमुख भीमलाल अधिकारीले बताउनु यो । मध्यविन्दु नगरपालिकाले सरसफाइ प्रवर्द्धन तथा जैविक मल उत्पादन केन्द्र सञ्चालन गरी जैविक मल उत्पादन गरेको उहाँले बताउनुभयो ।

दिगो रूपमा नगरभित्रको फोहोरमैला व्यवस्थापन गर्नु र फोहरबाट मल उत्पादन र मललाई आम्दानीसँग जोड्ने गरी नगरपालिका अघि बढेको नगरप्रमुख अधिकारीले बताउनुभयो। पहिलो चरणमा पाँच वडाबाट सञ्चालन गरिएको फोहोर सङ्कलनको कार्य हाल भने सबै वडामा पुगिसकेको अधिकारीले बताउनुभयो । फोहरबाट आफ्नै पालिकामा उत्पादन गर्दा यसले नगर सफा हुनुको साथै किसानले सहज रूपमा प्रयोग गर्न पाएको बताउनुभयो ।

यस्तै विनयी जैविक मल उत्पादन उद्योग सञ्चालन गरी स्याउला, घाँसपातको प्रयोगबााट जैविक मल उत्पादन सुरु गरिएको छ । उद्योगबाट उत्पादन भएको मल गाउँपालिकाभित्र प्रति केजी २० र बाहिर प्रतिकेजी २५ रुपियाँका दरले बिक्री गरिएको पालिकाले जनाएको छ । वन जङ्गलबाट सङ्कलन गरिएको स्याउला तथा घाँस पात जम्मा गरेर जैविक मल उत्पादन गरेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताउनुभयो ।

वन जन्य झाडी तथा हिउँदमा डढेलो निम्त्याउने तत्वलाई नियन्त्रण गर्न जैविक मलको उत्पादन प्रभावकारी हुने उहाँले बताउनुभयो । जैविक मल उत्पादनका लागि ‘एनसाव’ नेपाल र ‘एफएयु’ ले तालिम तथा अन्य प्राविधिक सहयोग गरेका छन् ।

Related Post

Leave A Comment