पुष २५, २०८१ बिहिबार
नारायण शर्मा
नवलपरासी- पूर्वी नवलपरासीअन्तर्गत महेन्द्र राजमार्गको दाउन्ने सडक अवरुद्ध बनेको छ । सडक फराकिलो बनाउने कामका कारण यहाँ सडक एकतर्फी मात्रै सञ्चालनमा रहेको थियो । त्यसमाथि निर्माणका क्रममा रहेको सडकमा खनिएका ठूल्ठूला खाल्डाका कारण त्यहाँ मालवाहक सवारीसाधनहरू भासिएर सडक जाम हुँदै आएको छ ।
लामो सडक जाम परेपछि यात्रुहरूलाई सास्ती हुने गरेको छ । सडकमा ठूला सवारी साधन भासिएर घण्टौँ जाम परेपछि गाडी छाडेर यात्रुहरू पैदल यात्रा गरिरहेका छन् । उक्त सडक खण्डमा दुम्कीवासबाट बर्दघाट निस्किन करिब चार घण्टा पैदल यात्रा गर्न परेको अधिवक्तासमेत रहेका यात्रु इजहार शेखले बताए ।
‘राजमार्गमा प्रहरी समेत छैन । सवारी फसेका छन् । यात्रुहरूको बिजोग भएको छ,’ उनले भने । दाउन्ने बजारदेखि पूर्व दुम्कीवाससम्ममा पर्ने पहाडमा पुल निर्माणका लागि भन्दै ७ स्थानमा सडकमा ठूल्ठूला खाल्डा बनाइएको छ । महेन्द्रराजमार्ग अन्तर्गत दाउन्ने पहाडमा १४ किलोमिटर सडक खण्ड पर्दछ ।
दाउन्नेदेखि पूर्वी दुम्कीवाससम्मको करिब ८ किलोमिटर सडक खण्डमा ७ वटा ठूला पुल निर्माणका लागि खाल्डा खनिएको छ । गत मंगलबारबाट दाउन्ने खण्डको १४ किलोमिटर सडक पार गर्न ८ घण्टाभन्दा बढी समय लाग्ने गरेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडक निर्माणको काम भइरहेकाले खाल्डा खनिएका स्थानमा ‘वान वे’ रहेको जनाएको छ । १४ किलोमिटर सडक खण्डमा सडक भत्काएर छोडेको ५ वर्ष भन्दा बढी भइसकेको छ । राजमार्ग निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेशनले फटाफट काम नगरेका कारण दाउन्नेमा सधैँ जाम हुने गरेको छ ।
साभार कान्तिपुर दैनिक
Leave A Comment