Latest
img

हुप्सेकोट गाउँपालिकाको छैटौँ अधिवेशनको पहिलो बैठक सम्पन्न

विष्णु गौडेल

हुप्सेकोट- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको छैटौँ गाउँ सभाको पहिलो बैठक विषयगत समितिको प्रतिवेदनहरू पारित गर्दै सम्पन्न भएको छ । शुक्रवार सम्पन्न पहिलो बैठकले सात वटा विषयगत समितिको अर्ध वार्षिक समीक्षा सहितको प्रगति प्रतिवेदन पारित गरेको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनु भयो ।

सभामा उपाध्यक्ष पूर्ण सिंह रानाले प्रस्तुत गर्नु भएको न्यायिक समिति र योजना अनुगमन समितिको प्रतिवेदन, वडा नं.१ का वडा अध्यक्ष प्रेम बहादुर घर्तीले प्रस्तुत गर्नु भएको पूर्वाधार विकास समितिको प्रतिवेदन, वडा नंं.२ का वडा अध्यक्ष कृष्ण बहादुर थापाले प्रस्तुत गर्नु भएको आर्थिक विकास समितिको प्रतिवेदन, वडा नं. ३ का वडा अध्यक्ष विष्णु रानाले प्रस्तुत गर्नु भएको संस्थागत विकास तथा सुशासन समितिको प्रतिवेदन, वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र पाण्डेयले प्रस्तुत गर्नु भएको वन वातावरण तथा विपद् समितिको प्रतिवेदन र वडा नं.६ का वडा अध्यक्ष छम बहादुर सोमै मगरले प्रस्तुत गर्नु भएको सामाजिक विकास समितिको प्रतिवेदन पारित गरिएको हो । अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विषयगत समितिका सभापतिहरूले चालु आर्थिक वर्षमा गाउँपालिकाले हासिल गरेका उपलब्धि, भावी योजना र सुधार गर्नु पर्ने पक्षका बारेमा प्रकाश पार्नु भएको थियो ।

चालु आर्थिक वर्षको अहिले सम्म हुप्सेकोट गाउँपालिका भित्रका स्वास्थ्य संस्था वाट तीन हजार सात सय ३८ जनाले स्वास्थ्य सेवा लिएको उपाध्यक्ष पूर्ण सिंह रानाले बताउनु भयो । प्रत्येक महिनाको अन्तिम शुक्रवार विशेषज्ञ रेडियोलोजिष्टबाट भिडियो एक्स–रे सञ्चालन गरिएको जनाइएको छ । विशेषज्ञ चिकित्सकहरूको सहभागितामा आयोजना गरिएको बृहत् स्वास्थ्य शिविरमा एक हजार एक सय ९८ जनाको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिएको छ । त्यसै गरी क्षयरोगीहरूको खोज पडताल कार्यक्रम अन्तर्गत पाँच सय २० जनाको परीक्षण गर्दा १० जनामा क्षयरोग पत्ता लागेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रत्येक महिनाको २१ गते निःशुल्क मधुमेह परीक्षण कार्यक्रम अन्तर्गत अहिले सम्म पाँच सय ७६ जनाको परीक्षण गरिएको छ । गर्भवतीहरूका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन कार्यक्रम अन्तर्गत एक सय जनाले सेवा लिएका छन् । पोषण कार्यक्रम तर्फ ४० जना सुत्केरीआमाहरुलाई पाँच हजारका दरले पोषण खर्च वितरण गरिएको छ । न्यायिक समिति सचिवालयमा दर्ता भएका २७ ओटा उजुरीहरू मध्य १५ ओटा मेलमिलापको माध्यमबाट सहमति गराइएको छ भने दुई वटा पुनरावेदनको लागि सम्बन्धित निकायमा पठाइएको र बाकी १० ओटा मेलमिलापको क्रममा रहेको उपाध्यक्ष रानाले बताउनु भयो ।

गाउँ सभामा बोल्दै अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सुन्दर, खुसी र उद्यमी हुप्सेकोट निर्माणका लागि प्रभावकारी रूपमा कार्यसम्पादन गर्न आग्रह गर्नु भएको थियो । गाउँ सभामा केही ऐनहरूको संशोधन प्रस्तावहरू पेस भएको र सभा सदस्यहरूले अध्ययन पछि आगामी बैठकमा निर्णयार्थ प्रस्तुत गरिने हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले जानकारी दिनुभयो ।यसैबिच गाउँ सभा सञ्चालन पूर्व सभाका सदस्यहरूलाई जीवन विज्ञान सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो । योग एवं जीवन विज्ञानका प्रशिक्षक नवराज सुवेदीले ध्यान, साधना र योगाभ्यासका बारेमा अभ्यास गराउनु भएको थियो ।

Related Post

Leave A Comment