Latest
img

असल अभ्यास प्रस्तुतिकरण र एसइइ परीक्षा सम्बन्धि सुझाव संकलन कार्यक्रम सम्पन्न

देवचुली – नवलपुरको देवचुलीमा शिक्षा सम्बन्धी दुई दिवसीय कार्यक्रम सम्पन्न भएको छ। देवचुली नगरपालिका वडा नम्बर १७ मा अवस्थित पिप्रहर सामुदायिक होमस्टे ग्राममा शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेश पोखराको आयोजनामा असल अभ्यास प्रस्तुतिकरण र एसइइ परीक्षा सम्बन्धि सुझाव संकलन कार्यक्रम सम्पन्न भएको हो।

दुई दिनसम्म चलेको कार्यक्रममा गण्डकी प्रदेश भरि उत्कृष्ट कहलिएका र नमुना अभ्यास गरेका विद्यालयहरूको तर्फबाट असल अभ्यास प्रस्तुतिकरण गरिएको थियो । साथै गण्डकी प्रदेश भन्दा बाहिरका तीनवटा विद्यालयका तर्फबाट विद्यालयको असल अभ्यास प्रस्तुत गरी सिकाई आदानप्रदान गरिएको थियो। कार्यक्रममा नवलपुर जिल्लाका जनक नमुना माध्यमिक विद्यालय गैंडाकोट, भीमसेन आदर्श नमुना माध्यमिक विद्यालय देवचुली र त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती गरी तीनवटा विद्यालय, मिर्मी आधारभूत विद्यालय र ध्रुवज्योति माध्यमिक विद्यालय स्याङ्जा, बेनी सामुदायिक माध्यमिक विद्यालय म्याग्दी, मदरल्याण्ड माध्यमिक विद्यालय कास्की, सत्यवती माध्यमिक विद्यालय तनहुँको असल अभ्यासको प्रस्तुतिकरण मार्फत सिकाई आदानप्रदान गरिएको थियो।

यसैगरी गण्डकी प्रदेशभन्दा बाहिरका जनज्योति माध्यमिक विद्यालय सुर्खेत, सिद्धबाबा माध्यमिक विद्यालय गुल्मी र कालिका मानव ज्ञान माध्यमिक विद्यालय रूपन्देहीको असल सिकाई अभ्यास प्रस्तुतिकरण गरिएको थियो।

कार्यक्रमको दोस्रो दिनको बिहानी सत्रमा योग प्रशिक्षक शंकर पोखरेलको प्रशिक्षणमा योगा तथा ध्यानको कार्यक्रम सम्पन्न गरिएको थियो। सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश र शिक्षा विकास निर्देशनालय पोखराको मातहतमा हुने सम्पूर्ण कार्यक्रममा योग तथा ध्यानको सेसन अनिवार्य रुपमा सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले जानकारी दिनुभयो ।

दोस्रो दिनको दिवा सत्रमा मध्यबिन्दु नगरपालिकाको तर्फबाट “हाम्रो खुसी” पाठ्यक्रमका बारेमा प्रस्तुतिकरण प्रस्तुत गरिएको थियो। साथै शिक्षा सेवा समाज कास्कीका तर्फबाट समेत अनुभव साटासाट गरिएको थियो। यसैगरी आतिथ्य जिल्लाका तर्फबाट शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख दिपेन्द्रराज श्रेष्ठले आफ्ना भनाइहरू राख्नुभएको थियो। सम्पूर्ण शिक्षा विकास तथा समन्वय इकाइका तर्फबाट शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका प्रमुख उद्धव कंडेलले एसइइ परीक्षा सम्बन्धी सुझावहरू राख्नुभएको थियो।

कार्यक्रममा स्याङ्जा जिल्लाका इकाइ प्रमुख विश्व आचार्यले मन्तव्य राख्नुभएको थियो। दुई दिनसम्म सञ्चालन भएको असल अभ्यास प्रस्तुतिकरण र एसइइ परीक्षा सम्बन्धी सुझाव संकलन कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका शिक्षा इकाई प्रमुख, शिक्षा विकास निर्देशनालय अन्तर्गतका कार्यालयका प्रमुख एवं प्रतिनिधि, केन्द्रध्यक्षहरू, शिक्षाविदहरू, सामुदायिक तथा संस्थागत विद्यालयका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो।

Related Post

Leave A Comment