हुप्सेकोट- नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाको वडा नम्बर १ मा सार्वजनिक सुनुवाइ तथा बृहत् वडा भेला सम्पन्न भएको छ । गाउँपालिकाले सञ्चालन गरेका योजना तथा सेवा प्रवाहका विषयमा वडा नम्बर १ को बेलुवामा सार्वजनिक सुनुवाइ गरिएको हो । कार्यक्रममा बोल्दै हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सुशासन र पारदर्शिताका लागि गाउँपालिका सधैँ प्रतिबद्ध रहेकाले सबै वडाहरूमा पुगेर सार्वजनिक सुनुवाइ सहित नागरिकसँग संवाद गरिएको बताउनु भयो । चालु आर्थिक वर्षमा गाउँपालिका भित्रका ६ वटै वडाहरूमा सार्वजनिक सुनुवाइ गरी पालिकामा पनि गर्ने गरी कार्यक्रम तय गरिएको बताउनु भयो । गाउँपालिकाले सञ्चालन गरेका कार्यक्रम, योजना एवं नागरिकका सुझाव, गुनासो र समस्यालाई नागरिक सँगै बसेर छलफल गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।
हुप्सेकोट गाउँपालिका उपाध्यक्ष पूर्ण सिङ रानाले गाउँपालिका भित्र सञ्चालन भएका सबै योजनाहरूमा नागरिकले चासो दिनु पर्ने बताउनु भयो । जनताको हितका लागि सञ्चालन गरिएका कामको गुणस्तर र प्रभावकारितामा सबै पक्षले चासो राख्नु पर्ने बताउनु भयो । गाउँपालिकाले ग्रामीण क्षेत्रको विकासका लागि शिक्षा, स्वास्थ्य, यातायात, कृषि, रोजगार लगायतका क्षेत्रलाई प्राथमिकता राखेर योजना बनाएको उपाध्यक्ष रानाले जानकारी दिनु भयो । हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद पराजुलीले नागरिकलाई गाउँ घरमा नै सेवा सुविधा सहजता पूर्वक उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाको गतिविधिहरू सञ्चालन गरिएको बताउनु भयो । जनप्रतिनिधि र कर्मचारीहरूको आपसी सहकार्य र समझदारीले नागरिकलाई छिटो छरितो सेवा उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताउनु भयो । धेरै भन्दा धेरै जनताको सुझाव र गुनासो प्रत्यक्ष सुन्नका लागि वडा तहमा गाउँपालिका अध्यक्ष,उपाध्यक्ष, कर्मचारी सहितको उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनु भयो ।
हुप्सेकोट गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रेम बहादुर घर्तीले वडा भित्रका योजना सञ्चालन र नागरिकको सेवा प्रवाह सधैँ पारदर्शिरुपमा सञ्चालन गरिएको बताउनु भयो । वडा भित्रको आवश्यकताको आधारमा योजना छनौट गर्ने देखि प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने गरिएको उहाँले बताउनु भयो । चालु आर्थिक वर्षका अधिकांश योजनाहरू कार्यान्वयन चरणमा रहेको वडा अध्यक्ष घर्तीले बताउनु भयो । कार्यक्रममा बोल्दै साबिकको देउराली गाविसका पूर्व अध्यक्ष झविलाल रानाले सङ्घीयताको मर्मर भावना अनुसार जनतालाई सेवा दिन आग्रह गर्नु भयो । सबै पक्ष बिचको एकता र सहकार्यले मात्र गुणस्तरीय विकास सम्भव भएकाले गाउँपालिका भित्र समान विकासका लागि जुट्नु पर्ने रानाको सुझाव रहको थियो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नम्बर १ का नागरिकले विभिन्न योजना एवं कार्यक्रमका बारेमा जिज्ञासा राखेका थिए । कार्यक्रममा बोल्ने स्थानीयले वडा भित्रको फोहोर मैला व्यवस्थापनको समस्या , सिँचाई कुलो निर्माण, सुकुम्वासी समस्या समाधान, कृषि क्षेत्रको प्रवद्र्धन लगायतका क्षेत्रमा जिज्ञासा राखेका थिए । साथै सोही अवसरमा आ.व.२०८२÷८३ को टोलगत योजना माग समेत गरिएको थियो । हुप्सेकोट गाउँपालिका वडा नं.१ भित्रका ७ वटा टोल विकास संस्थाका प्रतिनिधिहरूले टोलगत रूपमा आगामी आर्थिक वर्षका लागि योजनाहरू माग गरेका थिए ।
कार्यक्रममा हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्र प्रसाद रेग्मी, प्रशासकीय अधिकृत रवीन्द्र सापकोटा सहित सबै शाखा प्रमुख र जनप्रतिनिधिको उपस्थिति रहेको थियो । हुप्सेकोट गाउँपालिकाले यस अघि वडा नम्बर २, ३,५ र ६ मा सार्वजनिक सुनुवाइ सम्पन्न गरिसकेको छ ।
Leave A Comment