Latest
img

रोचक बन्दै नवलपुर क्षेत्र नं २ को निर्वाचन

नवलपरासी ( बर्दघाट सुस्तापूर्व) । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी नवलपरासी पूर्वमा पनि बढ्न थालेको छ । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवार प्रचारप्रसारमा जुटिरहेका छन् । नवलपरासी पूर्वमा पाँचदलीय गठबन्धन र एमालेबीच नै प्रतिस्पर्धा हुने प्रष्ट देखिएको छ ।

जिल्लाको क्षेत्र नं २ को सङ्घीय निर्वाचन चुनावमा २०७४ सालकै निर्वाचनका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुँदैछ । क्षेत्र नं २ मा गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की र नेकपा एमालेबाट तिलक महत उम्मेदवार रहेका छन् । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका उम्मेदवार विष्णुकुमार कार्कीलाई एक हजार तीन सय ३३ मतान्तरले पराजित गर्दै तत्कालीन वाम गठबन्धनतर्फबाट उम्मेदवार भएका तिलक महत विजयी हुनुभएको छ ।

यसपालीको निर्वाचनमा गठबन्धनको समीकरण फेरिएको छ । गत निर्वाचनको परिणाम उल्ट्याउने दाउमा विष्णुकुमार कार्की चुनावी दौडमा हुनुहुन्छ भने लगातार दोस्रो जीत निकाल्ने कसरतमा तिलक महत हुनुहुन्छ । एमाले एक्लोरुपमा जिल्लामा चुनावी दौडमा रहेकाले पनि पाँचदलीय गठबन्धनको साथले सहज जीत निकाल्ने कांग्रेसको आँकलन छ । अन्य जिल्लामा राप्रपासँग तालमेल गरेको एमाले नवलपरासी पूर्वमा एक्लै निर्वाचनमा उत्रिएको छ । गत स्थाानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा जिल्लाको क्षेत्र नं २ मा रोचक प्रतिस्पर्धा हुने देखिन्छ ।

नवलपरासीपूर्वको निर्वाचन क्षेत्र नं २ मा कूल ४० वटा वडा छन् । स्थानीय तहको निर्वाचनमा ४० मध्ये एमालेले २२ वटा वडा जितेको थियो । कांग्रेस १६ वटा वडामा विजयी हुँदा राप्रपा र माओवादीले एक÷एक वडा जितेका छन् ।

यस्तै यस निर्वाचन क्षेत्रमा पर्ने पाँच स्थानीय तहमध्ये एमालेले चार वटा पालिका जितेको छ भने कांग्रेसले एउटा मात्र पालिका जितेको छ । गत स्थानीय निर्वाचनमा ४० वटा वडामा नेकपा एमालेका वडाध्यक्षले ४२ हजार पाँच सय मत प्राप्त गरेका थिए । कांग्रेसका वडाध्यक्षले ३८ हजार पाँच सय ८७ मत पाएको देखिन्छ । माओवादीका वडाध्यक्षले एक हजार सात सय ४२ मत पाएका थिए भने एकीकृत समाजवादीका वडाध्यक्षले एक सय ६२ मत पाएका थिए । अहिले पाँचदलीय गठबन्धमा रहेका दलका वडाध्यक्षले पाएको कूल मत ४० हजार चार सय ९१ रहेको छ भने एमालेका वडाध्यक्षले ४२ हजार पाँच सय मत पाएको देखिन्छ । स्थानीय तहको निर्वाचनमा प्रमुखले प्राप्त गरेको मतका आधारमा एमालेका पाँच पालिका प्रमुखले कूल ४१ हजार सात सय १९ मत प्राप्त गरेका छन् भने कांग्रेस र एकीकृत समाजवादीले ४१ हजार पाँच सय४४ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचनतर्फ नवलपुर क्षेत्र नं २ मा ५६ मतदानस्थल र एक सय ४९ मतदान केन्द्रबाट एक लाख २९ हजार दुई सय ८० जनाले मतदान गर्न पाउनेछन् । यहाँ पुरुष मतदाता ६१ हजार सात सय ४०, महिला मतदाता ६७ हजार पाँच सय ३७ र अन्य मतदाता तीन जना छन् ।रासस

Related Post

Leave A Comment