Latest
img

किसानलाई तरुल बेच्न भ्याईनभ्याई

मीना कंडेल

कावासोती- नवलपुरका किसान तरुल खन्न र बिक्री गर्न व्यस्त छन् । माघे सङ्क्रान्तिमा तरुल खाने प्रचलन रहेकाले पर्व नजिकिँदै जाँदा जिल्लामा तरुलको माग बढ्दो छ ।

चार पाँच दिनदेखि जिल्लाको कावासोतीमा रहेको कृषि थोक बजारमा तरुलको व्यापार पनि निकै फस्टाएको छ । पहिले नवलपुरमा उत्पादित तरुल काठमाडौं लगेर बिक्री गर्नुपर्ने अवस्था रहेपनि केहि वर्षअघिबाट व्यापारीहरू कावासोतीमै आएर खरिद गरेर लाने गरेका छन् ।

विशेषगरी पहाडी क्षेत्र बुलिङटार गाउँपालिकाको अर्खला, राइकोट,  देउराली, भारतीपुर, भदौरी, जौवारी, बौदिकाली गाउँपालिकाको ववक, रुचाङ, नगरडाँडा र हुप्सेकोट गाउँपालिकाको रुम्सी, चारघरे लगायतका क्षेत्रमा सबैभन्दा बढी तरुल उत्पादन हुने र दैनिक रूपमा कावासोती ल्याउने गरेको कृषि थोक बजार व्यवस्थापनका अध्यक्ष लेखनाथ बस्यालले बताउनुभयो । जिल्लामा उत्पादन भएको तरुल हालसम्म काठमाडाैँ र पोखरामा १५ टन व्यापारीले लगिसकेको र बाँकी लाने तयारीमा रहेको बस्यालले बताउनुभयो ।

विगत नौ वर्षदेखि बुलिङटार गाउँपालिका राइकोटका कृष्ण बहादुर सारुले सदरमुकाम कावासोतीमा तरुलको व्यापार गर्दै आउनुभएको छ । सिजनमा तरुल व्यापारबाट राम्रो आम्दानी भएपछि सारुले गाउँबाट तरुल खरिद गरी कावासोतीमा बेच्ने गर्नुभएको छ । कावासोतीमा तरुल थोक बिक्रेताका रूपमा काम गर्दै आउनुभएका व्यावसायी सारुले पहाडी क्षेत्रबाट दैनिकजसो करिब १० क्विन्टल तरुल कावासोतीमा मात्रै आउने गरेको बताउनुभयो । गत वर्ष आफुले २० टन तरुल बिक्री गरेको उहाँको भनाइ छ ।

धादिङ निलकण्ठ नगरपालिका वडा नं ५ का नबिन ढुङ्गानाले हात्ती पाइले तरुल खरिद गर्न नवलपुरको कावासोती आएको बताउनुहुन्छ । कालीमाटीमा व्यापार गर्दै आउनुभएका ढुङ्गानाले चार वर्ष अघिदेखि यहिबाट तरुल खरिद गरी बिक्री गरेको बताउनुभयो । दस टन तरुल गत वर्ष खरिद गरेको र यसवर्ष पनि दस टन खरिद गरेको उहाँको भनाइ छ । गत वर्ष भने धरानबाट तरुल आएकाले थोरै बिक्री भएको यसबाट धेरै आम्दानी नभए पनि सन्तोषजनक रहेको उहाँले बताउनुभयो ।

नवलपुरको अरुणखोला, झ्यालबास, जुकेपानी, कावासोती, दलदले लगायतका क्षेत्रका व्यापारीहरूले तरुल नवलपुरबाट बाहिर पठाएको नवलपुरका तरुल व्यापारी लालबहादुर सारुले बताउनुभयो । जिल्लाको स्थानीय बजार कावासोती, डण्डा दलदले प्रगतिनगर, रजहर, गैँडाकोट, चोरमारा, अरुणखोला, दुम्किबास लगायतका बजारहरूमा तरुल बिक्री हुने गरेको छ । यहाँ मोडे तरुल, वन तरुल, सखरखण्ड जस्ता तरुल सबैभन्दा बढी बिक्री हुने गर्दछ । अहिले नवलपुरमा स्थानीय बजारमा हात्तीपाइले तरुल ८० रुपियाँ प्रति किलो, वन तरुल १ सय ४० रुपियाँ प्रति किलो, चक्रे तरुल ८० रुपियाँ प्रति किलो र ठुला तरुल अर्थात मुठे तरुल १ सय रुपियाँ धार्नी बिक्री भएको सारुले बताउनुभयो ।

गत वर्ष नवलपुरमा ५५ मट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । वार्षिक दस प्रतिशतले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रको अनुमान छ । जिल्लामा करिब चार हेक्टर क्षेत्रफलमा तरुल उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्ले बताउनुभयो ।

Related Post

Leave A Comment